नक्कली फेसबुक आइडी प्रयोग गरि युवतीको बेइज्जत,प्रहरी भन्छ, अनुसन्धान भैरहेको छ

maiya

खोटाङ,४ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट फ्रेण्ड रिक्वेस्ट आयो । ‘यो मायाको सागर’को फ्रेण्डलिष्टमा आफ्नै गाउँका दिदि बहिनीहरु देखेपछि उनले पनि चिनजानकै मान्छे ठानेर फ्रेण्ड रिक्वेस्ट स्वीकार गरिन् ।

तर, त्यही अपरिचितको फ्रेण्ड रिक्वेस्ट एसेप्टले गर्दा दाहाल थरकी युवतीलाई नसोचेको तनाव झेल्नु परेको छ । पटक-पटक आफ्नै तस्बिर राखेर अपशव्द प्रयोग गरेर ‘सेक्स्सुअल’ स्टाटस लेखेर टाइमलाईनमा राखिदिने र ट्याग गरिदिन थालेपछि उनलाई तनाव भएको हो । नक्कली फेसबुक आइडीबाट गाउँघरमा हिँडडुल गर्नै अपठ्यारो हुनेगरी आक्रमण भएको उनी बताउँछिन् ।

सोही ठाउँकी अर्का १९ वर्ष र २१ वर्षकै युवती पनि ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाटै पिडित छन् । ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट तिनै युवतीको तस्बिर राखेर व्यक्तिगत मान, सम्मान र इज्जतमा दाग लाग्ने खालका शव्द प्रयोग गरेर आफन्तलाई ट्याग गरिदिने गरेका छन् । युवतीको टाइमलाईनमा राखिएका र ट्याग गरिएका सामग्री आफन्तसँग सँगै बसेर पढ्न सकिन्न ।

‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट उनीहरु मात्र नभएर हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी, रावाबेँसी गाउँपालिका-१ कुभिन्डेदेखि काभ्रेसम्मका दर्जनौं युवती पिडित भएको पाइएको छ । अश्लिल स्टाटसले समाजमा मुख देखाउँनै असहज बनाएको पिडित युवतीले बताईन् ।

किशोरीको तस्बिर राखेर पटक-पटक अश्लिल पोष्ट गर्दा परिवारमा समेत तनाव सिर्जना भएको छ । नक्कली फेसबुक अकाउण्ट बनाएर युवतीको मानमर्दन गर्ने र सामाजिकरुपमा बेइज्जत गर्ने व्यक्तिको हालसम्म पहिचान भएको छैन ।

‘हाम्रो इज्जत र प्रतिष्ठामा प्रश्न चिन्ह उठेको छ । घर परिवार र समाजले हेर्ने दृष्टिकोण समेत नकरात्मक बनेको छ । व्यक्तिगत जीवन व्यतित गर्नै समस्या बनाएको छ,’ एक पिडित युवतीले भनिन्, ‘अव लजाएर चुप बसेर भएन ।

चुप लागेर बसिरह्यौं भने समाजले उल्टै हामीलाई नै नराम्रो ठान्ने रहेछ । थोरैले हामी निर्दोष छौँ भनेर बुझेका छन्/ बुझ्छन । धेरैले त हामीलाई नै दोषी भनिरहेका छन् । हामी यसबाट उन्मुक्ती खोजिरहेका छौँ ।’

नक्कली फेसबुक आइडीबाट मानमर्दन गर्ने व्यक्तिको पहिचान एवं कारबाहीका लागि पिडित चार युवतीले जिल्ला प्रहरी कार्यालय खोटाङमा असार १२ गते र असार १९ गते निवेदन दिएका छन् ।

यस्तै, असार १३ गते प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी काठ्माण्डौंमा पनि निवेदन दिएको बताएका छन् । तर, हालसम्म दोषी पत्ता लाग्न सकेको छैन । हालसम्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

‘यो टेक्निकल कुरा भएकाले साइबर व्यूरोसँग समन्वय गरेर काम भइरहेको छ । त्यो मान्छे बसेर चलाइरहेको स्थान पत्ता लागिसकेको छ,’ डिएसपी लम्सालले भने, ‘त्यो मान्छे विदेशमा भएकाले को, केहो भन्ने पत्ता लगाउन गार्‍हो भइरहेको छ । त्यसको पहिचानका लागि ईन्टरपोलमार्फत प्रयास गरिरहेका छौँ ।’

पिडित युवतीले नक्कली फेसबुक आइडीबाट आफ्नै तस्बिर राखेर अश्लिल स्टाटस लेखेको असार ११ गते मात्र थाहा पाएका थिए । ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट ‘पहिलो र दोश्रो भाग सकियो अव तेश्रो भाग आउँछ’ भनेर स्टाटस लेखेको पिडित युवती बताउँछन् ।

मेसेञ्जरमा समेत अश्लिल शव्द प्रयोग गरेर सम्वाद गर्नेगरेको पाइएकोछ । यद्यपी, प्रहरीसम्म उजुरी पुगेपछि सो आइडी सञ्चालकले क्रमशः सबैलाई फ्रेण्डलिष्टबाट हटाउँदै लगेको बताइएको छ । एक युवतीको तस्बिरलाई प्रोफाइल पिक्चर बनाएका उनले हाल सोे तस्बिर समेत हटाएको पाइएको छ ।

तपाईको प्रतिक्रिया