तामाको भाँडामा बनाएको रक्सी विदेश निकास गर्छौँ ः सामाजिक विकास मन्त्रीराई

maiya

विराटनगर, प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाँडामा उत्पादन गरेको लोकल रक्सी विदेश निर्यात गर्ने बताउनु भएको छ । बुधवार प्रदेशसभामा बजेट माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले तामाकै भाँडामा जडिबुटीसहित कोदोबाट बनेको रक्सी विदेश निर्यात गरिने बताउनु भएको हो ।
नेपालको मौलिकता र राष्ट्रियता बोकेको रक्सी उत्पादन गर्ने बताउँदै उहाँले भन्नु भयो, ‘रक्सी, रक्सी मात्र होइन, जब अन्तर्राष्ट्रिय रूपमा हामीले बेच्ने कुरा गर्दै छौँ यसले राष्ट्रियताको सवाल राख्छ । राष्ट्रियता बोकेको नेपालको रक्सी कस्तो हुन्छ ? त्यो उत्पादन गर्न हामी गइरहेका छौँ ।’
स्वदेशी रक्सीको प्रवर्द्धनका लागि सम्भावित अध्ययनको काम जारी भइरहेको बताउदै मन्त्री राईले भन्नु भयो, कोदोबाट बनाएको रक्सी नेपालमा मात्र नभएर विदेश ब्राण्डको रुपमा निकासा गरिनेछ ।

भिआइपीहरूले गर्ने डिनरमा पहिला लोकल कोदोको रक्सी वितरण हुने बताउँदै मन्त्री राईले भन्नु भयो, नेपालको ब्रान्ड विदेशसम्म पु¥याईने छ ।
‘सम्मानीय राष्ट्रपतिज्यूहरू, प्रधानमन्त्रीज्यूहरूले जब अन्तराष्ट्रिय डिनरहरूको उद्घाटन गर्नुहुन्छ, सजिएको ठाउँमा, उज्यालो ठाउँमा सबैभन्दा पहिला रक्सी नखोली त्यहाँ स्न्याक्स सुरु हुँदैन,’ उहाँले भन्नु भयो, ‘हामीले पनि अब नेपालको राष्ट्रियता बोकेको रक्सी उत्पादन गर्नेछौँ मिसावटरहित ।’

‘कुनै सिलबरको भाडामा होइन, कुनै अरू धातुमा होइन, हाम्रो आफ्नै प्रविधि, संस्कृति, आफ्नो विद्या र कलालाई अब हामी वैज्ञानीकरण गर्न गइरहेका छौँ,’ मन्त्री राईले भन्नु भयो, ‘त्यसलाई हामी अब तामाकै भाडामा बनाएर, जडिबुटिसहित कोदोबाट बनेको रक्सी, कोदोलाई फलेर सफा गरेर बनाएर त्यसलाई आफ्नो प्रविधि कला मिसाएर ब्रान्डिङ गर्छौँ ।

तपाईको प्रतिक्रिया