खोटाङका ८५ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता वापतको अनुदान रकम

Halesi Khabar

खोटाङ, २४ असार ।  भूकम्प गएको छ वर्ष बित्दा खोटाङका ८५.९५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको अनुदान रकम बुझेका छन् । पुनः निर्माणतर्फ नौँ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी दश हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ हजार ३३७ अर्थात ८५.९५ प्रतिशत लाभग्राहीले मात्र हालसम्म निजी आवास अनुदान वापत तेस्रो किस्ता रकम बुझेका हुन् ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा हालसम्ममा पुनः निर्माणतर्फ नौँ हजार ६८ र प्रवलीकरणतर्फ ७८५ गरी नौँ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएको जनाइएको छ । सम्झौता गरिएकामध्ये हालसम्म पुनः निर्माणतर्फ नौँ हजार ४७ (९१.८१ प्रतिशत) लाभग्राहीले दोस्रो किस्ता बुझेको बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा पुनः निर्माणतर्फ नौँ हजार ६८ घर र प्रवलीकरणतर्फ ७८५ गरी नौँ हजार ८५३ (९५.८३ प्रतिशत) लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङकाख् सूचना अधिकारी मणिराम ढकालले जानकारी दिनुभयो । वि.सं. २०७२ वैशाख १२ गते गएको भूकम्पपछिको पुनःनिर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोस्रो किस्ता र ७१० लाभग्राहीले तेस्रो किस्ता लिएका छैनन् ।

कुल लाभग्राहीमध्ये पुनः निर्माणतर्फ २४२ र प्रवलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको जनाइएको छ । निजी आवास पुनः निर्माणकाक्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्ता वापतको रु ५० हजार अनुदान फिर्ता गरेका छन् ।

यस्तै दोहोरो भुक्तानी लिएका तीन जना लाभग्राहीले रु एक लाख ५० हजार फिर्ता गरेको छन् । प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ लाभग्राहीको रु ६० लाख अनुदान फिर्ता गरिएको जनाइएको छ ।

पुरानो प्रावधान अनुसार प्राधिकरणबाट १७ र हालको प्रावधान अनुसार ५१३ लाभग्राहीलाई प्रवलीकरणबाट पुनः निर्माण लाभग्राहीमा परिवर्तन गरिएको छ । भूमिहिन लाभग्राही पाँच जनामध्ये चार जनालाई जग्गा खरिदका लागि रु दुई÷दुई लाख प्रदान गरिएको र जोखिम वर्गका ३९ लाभग्राहीमध्ये ३७ जनासँग सम्झौता गरिएको जनाइएकोछ ।

दिक्तेलस्थित होटल सगरमाथामा आयोजित कार्यक्रममा राष्ट्रिय पुनः निर्माण प्राधिकरणको अनुदानमा कालोपत्रेका काम भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडकको प्रगतिका विषयमा जानकारी दिइएको छ । थप भएको म्याद गत वैशाख २९ गते सकिएको सडकको हालसम्म ६० प्रतिशतमात्र प्रगति भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले जानकारी दिनुभएको छ ।

पुनः निर्माण अन्तरगत हाल जिल्लामा तीन वटा गुम्बा पुनः निर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित थेकछोक मेन्ट्रोल साम्ताङ छोलिङ गुम्बा र ऐसेलुखर्क गाउँपालिकास्थित बुद्ध छोलिङ गुम्बा निर्माणका लागि सम्झौता भइसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया