दिक्तेलमा एक सय बेडको कोभिड अस्पताल संचालन, जिल्लाबासीमा छायो खुसियाली

maiya

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलस्थीत जिल्ला आयुर्वेद सेवा केन्द्रको भबनमा एक सय बेडको कोभिड असपताल सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला अस्पतालको समन्वयमा जिल्ला आयुर्वेद अस्पतालको कार्यालयमा कोभिड अस्पताल बीहिवारबाट सुरु गरिएको हो।

हाल ३२ वेड क्षमताको अस्पताल संचालनमा ल्याइएपनि विरामीको चापका आधारमा एक सय सम्म विरामी अटाउन सकिने व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्यले जानकारी दिनु भयो । कोभिड अस्पतालमा अक्सिजन, पल्स अक्सिमिटर, थर्ममिटरलगायत अन्य मेडिकल उपकरणहरु समेत आजैबाट संचालनमा ल्याइएको संयोजक आचार्यले बताउनु भयो ।

कोरोना भाइरस (कोभिड –१९) ले आक्रान्त बनाइरहेका बेला नगरपालिकाले कोरोना संक्रमणबाट अस्पतालनै भर्ना हुनुपर्ने अवस्थाका विरामीहरुलाई सबै प्रकारका उपकरण र डाक्टरहरुको व्यवस्था गरेर सहजता प्रदान गरेको हो । कोभिडसँग सम्बन्धित सबैखाले काम कोभिड अस्पतालले गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले बताउनु भएको छ ।  अस्पतालको उद्धघाटन गर्दै मेयर रिजालले भन्नु भयो, ‘यो अस्पतालमा सकेसम्म कोभिडका विरामी राख्न नपरोस् कामना गर्दछु, यदि विरामी भएर आइहालेको खण्डमा छिटो निको बनाएर घर फर्काउने हाम्रो उद्धेश्य हो।’

अक्सिजनको पर्याप्त व्यवस्थापन सहित कोभिड अस्पतालमा हुनुपर्ने आधारभुत सबै कुराको व्यवस्थापन गरिएको मेयर रिजालको भनाई रहेको छ । जिल्लाका लागि आउने भनिएको भेन्टिलेटर, आईसियु पनि सोही अस्पतालमा राखेर सुबिधा सम्पन्न अस्पताल बनाउने मेयर रिजालको भनाई छ ।

जिल्ला अस्पतालमा अव अन्य विरामीको मात्र उपचार र कोरोना संक्रमितहरुको कोभिड अस्तालमा नै उपचार गर्ने गरि वातावरण मिलाइएको अस्पतालका डाक्टर बैभव मल्लिकले जानकारी दिनु भयो । अस्पतालमा भौतिक पूर्वाधारको कमी रहेका कारण सबैखाले विरामीलाई एकै ठाँउमा उपचार गर्नुपर्ने बाध्यता हल भएको उनको भनाई छ ।

आयुर्वेद अस्पतालको कार्यालयमा संचालनमा ल्याइएको कोभिड अस्पताल निरीक्षण तथा अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुख ववी चाम्लीङ, नगर प्रमुख रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अस्पतालका डाक्टरहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया