कविता : गाउँ र सम्झना

Halesi Khabar

नाहिमा राई ( जुनकला )

प्रिय गाउँ!!
मेराे लागि भनेरै फुलिरह्याै
यत्राे समय
पहाड पहाडमा गुराँस बनेर
रूख रूखमा सुनाखरी बनेर
हाँगा हाँगामा चाँप बनेर
चिमाल बनेर।

मेरै लागि भनेर त हाेला
उठाएर हिमाल हँसाईरहेकाे
बनाएर बेँशि सुसाईरहेकाे
फिजाएर फाँटहरू झुलिरहेकाे।
बनेर सितल हावा डुलिरहेकाे।

म खेल्छु भनेर नै हाेला
हतार हतार दाैडिरहेकाे नदिलाई बिसाउन लायाै
र बनेछा् मैले पाैडिने दहहरू
बनेछन् मैले नाच्ने छहराहरू
जहाँ निस्किए ईन्द्रेणिहरू।

म हिँड्न सिकुँ भनेर त बनायाै हाेला
यति विधि बाटाेहरू
उकालि ओरालि देउरालिहरू
भन्ज्याङ चाैतारीहरू।
जहाँ मैले यात्रा सिकेँ।
बाटाे चिनेँ।

मेरै लागि भनेर त हाेला बनायाै
यति विशाल आकाश
जहाँ उडिरहे चराहरू
हिँडिरहे बादलहरू
मैले सिकिरहेँ जिवनकाे उडान
खाेजिरहेँ समयकाे रङ।

प्रिय गाउँ !
तिम्रै छातिमाथि राखेर
तिमिले खेल्न सिकायाै।
म खेलेँ।
रमाउने वातावरण दियाै म।
म रमाएँ ।
म हुर्किएँ।

सुन्छु
अहिले तिमी एक्लाेपनकाे भिर ठड्याएर
उजाड आँखाहरूले खाेजिरहेछाै रे
तिमिले हुर्काएका रहरहरूकाे पदचाप!

अहिले गाउँ छाडेकाे धेरै पछि
मैले पनि
पहिराे थामेर बसेकाे तिमिलाई
खुब सम्झिरहेछु

हेर त!
आफ्नाेलाई सम्झन अरूले दुख दिनुपर्ने रहेछ।
माटाेलाई सम्झन बाटाेले धाेका दिनुपर्ने रहेछ।
०००

तपाईको प्रतिक्रिया