कोरोना कहरमा किन शास्ती ?

Halesi Khabar

–भीम राई
कोरोनाको कहर अहिले देशव्यापी बनेको छ । रोगका कारण मरिने हो कि भन्ने सबैलाई त्रासको समयमा केहीलाई भने मालामाल बनेको खबर सार्वजनिक भइरहेका छन् । केही समय अगाडि सामाजिक सञ्जालमा खोटाङ यातायात प्रा.लिका महासचिव रामकुमाार हिङमाङले आफ्नो फेसबुक पेजमा यस्तै एउटा उर्दी जारी गरे ।

उनको व्यक्तिगत फेसवालमा खोटाङ भन्दा बाहिरबाट आउने यात्रुहरुलाई यातायात व्यवसायीहरुले चर्को भाडा उठाएर यात्रु बोकेको हल्ला सुनिएकाले सचेत गराईएको थियो । उनले यदि कोही कसै व्यवसायीले यसरी यात्रुबाट चर्को भाडा उठाएको प्रमाणित भएमा कारवाही भोग्न समेत तयार रहन सचेत समेत गराएका थिए ।

हिङ्माङले लेख्छन्, ‘काठमाडौँ र तराईबाट कोरोना महामारीका बेला खोटाङ आउने यात्रुसँग प्रति व्यक्ति ५,००० गाडी भाडा लिएको सूचना प्राप्त भएको छ खोटाङ यातायातका व्यवसायीहरुले लिनु भएको छ भने कारवाहीका लागि तयारी हुनु होला ।’ देशव्यापी कोरोना कहरमा शहर छाडेर गाउँ आउनेहरुबाट यातायात व्यवसायीले चर्को भाडा असुलेको गुनासोका आधारमा उनले छानविन गरिनेपनि जानकारी समेत दिए ।

यस्तै हिङमाङकै पोष्टमा उद्योग वाणिज्य सङ्घ दिक्तेलका निर्वतमान अध्यक्ष राजु लयालु कमेन्ट गर्छन् । ‘जिप सुमोले काठमाण्डुबाट दिक्तेल भाडा रु ५, ०००÷– लिने गरेको र ५ जना मात्र राख्नु पर्नेमा ९ जना नै ल्याउने गरेको र प्रहर ट्राफिक ले चेकिङ गर्दा रु २, ०००÷– जरिवाना गरेर छाड्ने प्रवत्ति पाइयो । सम्बन्धित निकायको ध्यान जाओस ।’

लयालुले गरेको कमेन्टपछि त्यहाँ थपक केही सम्वादहरु पनि भएका छन् । उनले सानो गाडी सुमोमा ९ जना ल्याउने गरेको र प्रति व्यक्ति पाँच हजारका दरले रु ४५ हजार उठाउने गरेको आरोप लगाए । यतिसम्म कि काठमाडौँबाट खोटाङ आउने भाडा रु एक २०० भएकोमा यो अति भएको उनको गुनासो रहेको छ ।

काठमाडौँबाट बेलुकीनै हिँडाएर रातारात दिक्तेल मान्छे ओरालिने गरेको गुनासो बजारमा व्यापक सुनियो । मान्छेलाई आपत परेकाले ल्याउने गरेको अर्काथरीको भनाइ पनि नसुनीएको होईन । केही बजारवासीको अर्को पनि गुनासो सुनियो । बजारमा कार्यलय, पसल, होटल सबै बन्द गरेपनि मान्छेहरुलाई खुल्ला हिँडडुल गर्न दिएकाले जोखिम उस्ताको उस्तै त हो ।

यी बजारमा आएका हल्ला र गुनासोको विचमा पनि कोभिड सङ्क्रमणको दरभने खोटाङमा पनि उकालो लागेको छ । दैनिक जसो सङ्क्रमित संख्या थपिने क्रम जारी छ । काम गरिखाने मजदुरहरुमा विस्तारै शास्ती थपिन थालेको छ । रोगको डरभन्दा अब भोकको डर शुरु भएको स्थिति हो अहिले । सरकारको तर्फबाट आइसोलेशन घरहरु धमाधम बन्दै छन् । तर नियन्त्रणका लागि अपनाउनु पर्ने सावधानीको बारेम व्यवस्थित योजना रहेको छैन । मानिसहरुको आउने जानेक्रम रोकिएको छैन ।

केहीले औषधिजन्य कुराहरुमा समेत कमाउधन्दा गरिररहेको गुनासोहरु पनि सुनिन थालिएको छ । बजारमा समानको भाउ वृद्धि हुन थालेका छन् । सामानहरु नभएकोले मुल्य वृद्धि भएको हो या आपूर्ती हुन नसकेको बजार अनुगमन गर्नुपर्ने आवश्यकता रहेको छ । स्वास्थ्य सर्तकताको नाममा बजारमा समानको कृतिम अभाव हुने संकेत देखिन थालेका छन् ।

यसबेला सरकार क्रियाशील हुनुपर्ने बेला हो । बजारको अनुगमन गर्ने तथा अभावमा बाँचेका आफ्ना नागरिकलाइ राहतको व्यवस्था गर्नु पर्ने बेला आइसकेको छ । गत वर्ष सङ्क्रमणको यस्तो चरम अवस्था नुहँदा सरकारको तर्फबाट राहत वितरणमा प्रतिस्पर्धा जस्तै देखिएका थिए ।

यसपटक राहतको चाँजोपाँजो मिलाइएको देखिदैन । सरकारको रिक्तता नागरिकले महशुस गर्न थालेका छन् । यस्तै बेला सरकारले सहयोग गर्नुपर्ने होइन र ? सरकारको ध्यानाकर्षण गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।

जनता भोकै सरकारको लकडाउनको आदेश मान्न तयार होलान र ? बेलैमा उपायहरु अवलम्बन गर्ने पो हो कि । जनतालाई चर्को भाडा असुल्नेहरुलाई बजारमा कृतिम अभाव सिर्जना गर्नेहरुलाई अर्थात सबैखाले नियम विपरित काम गर्नेहरुलाई खोजेर कारवाही पनि गर्ने पो हो कि ?

तपाईको प्रतिक्रिया