रोगबाट जोगाएर भोकबाट मार्न पाइन्न !

Halesi Khabar

–भीम राई
यतिबेला सबैतिर कोरोना भाइरसको सङ्क्रमणले आमनागरिक त्रासित बनेको छ । हरेक पल त्रासमयी वातावरणमा मानिसहरु भेटघाट गरिरहेका छन् । महामारीको रुपमा फैलिएको यस रोगका कारण मानिसहरु घरभित्रै गुम्सिएर बसिरहेका छन् । मानिसहरुको मनमा भोक प्यासको चिन्ता जति छ त्यो भन्दा भयनाक भएर आएको छ मृत्यु ।

मृत्यु शास्वत सत्य त छदैँछ । तर, अकल्पिनीय हिसाबले आउने मृत्युलाई कसैले सहज मान्दैनन् । कालगतीले आउने मृत्युलाई हरेक असन्तुष्टिका साथ सहज हिसाबले लिने बानी परेको मानवसमुदायका हामीले अहिले हुने मृत्युलाई एकप्रकारले हत्याको हिसाबले हेर्दा पनि पाप लाग्दैन होला ! किन भने कोभिड–१९ नामको भाइरसले गरेको हत्या हो यो । यो हत्यामा दोषी को–को हुन् ? हामीले खोज्नु पर्दछ ।

हामीले राज्यलाईमात्र दोष थोपारेर आफू चोखो छु भन्नु किमार्थ हुँदैन । राज्य वा सरकारले उपयुक्त समयमा उपयुक्त निर्णय लिन सकेन भन्ने हुन सक्दछ । रोगसँग लड्न प्रशस्त तयारी पूरा गरेन भन्न पनि सकिन्छ । रोगको सङ्क्रमण भएपछि आफ्नो नागरिकलाई उचित उपचार गर्न सरकार सक्षम भएन भन्ने ठाउँ होला । तर, हामी नागरिक हुँ भन्नेहरु के गरिरहेका छौँ ?

यो पनि त प्रमुख प्रश्न बाँकी नै छ । रोग नलागेसम्म जीउ छाड्ने हाम्रो बानीले पनि रोगको दायरा बढाउने काम गरिरहेको छ हैन र ? नियन्त्रण र रोकथाम गर्ने भन्दा पहिले पूर्वअवस्थाको बारेमा हामी कति सचेत छौँ र रहेका छौँ ? आफूलाई एकपटक प्रश्न गर्ने बेला हो कि ?

कसैले कसैलाई दोष दिएर बस्ने उचित सावधानी नअपनाउने हो भने हाम्रो दशा उनीहरुकै जस्तो (जो मरेर गए) हुने निश्चित छैन र ? यसबेला सम्पूर्ण नागरिकहरुले सोच्नेबेला आएको छ । महामारीको उच्च तहको सङ्क्रमण दर फैलिरहेको बेला सरकारलाई धारेहात लगाएर बजारमा लुखुर–लुखुर निस्कनेहरुले सङ्क्रमणको नियन्त्रणमा सहयोग पु¥याउँला र ? यसका दोषी त हामी नागरिक आफैमा हुँदै हो त । यसैले अलिकति भएपनि जिम्मेवार बनौँ ।

सरकारले लकडाउन ग¥यो । निषेधाज्ञा जारी ग¥यो । सहि गरेको हो । यसमा कुनै कसैलाई पीरमार्का परेको हुनसक्दछ । तर, यसले मानवीय क्षतिमा कम हुनेनै छ । सङ्क्रमणको दर घटाउने नै छ । तर, यसबीचमा बढ्न सक्ने भोकमरीको बारेमा भने सरकारले सचेतता अपनाउनु पर्ने देखिन्छ ।

आफ्नो नागरिकलाई रोगबाट जोगाएर भोकबाट मार्न पाइन्न । यसका बारेमा वैकल्पिक उपायहरुको खोजि गर्न सक्नुपर्दछ । शहर तथा गाउँ सबै ठाउँमा अप्ठ्यारोमा पर्ने भनेको काम गरिखाने मजदुरहरु हुन् । उनीहरुको रोजीरोटीको ग्यारेण्टी भने सरकारले लिन सक्नुपर्दछ ।

यस्तो बेला केही वैकल्पिक र सिर्जनात्मक कामहरु गर्न सकिन्छ । जो जसलाई जे आउँछ उसलाई सुरक्षित स्थानमा उस्तै प्रकारको रोजगारीको सिर्जना गरिदिन सक्नु पर्दछ । जस्तो कोही मजदुरलाई डकर्मी गर्न आउँछ । उसलाई सरकारले सम्बन्धित क्षेत्रको सार्वजनिक स्थलहरु जो मर्मत गर्ने योजना परेका छन् । त्यहाँ काम लगाउन सकिन्छ ।

सिमेन्ट बालुवाको काम जान्दछ भने कुनै सरकारी आवासहरु अवश्य ठेक्का लागेका होलान त्यही ठाउँमा कोरोना प्रोटोकल लागुहूने गरी काममा समावेश गर्न सकिन्छ । यसो गर्दा खासगरेर काम गरिखानेहरुको समस्या समाधान हुने छ । जम्मा सुरक्षित तवरले काम गर्न प¥यो । उसले आफ्नो र आफन्तहरुको लागिपनि स्वास्थ्य सर्तकता अपनाउनु प¥यो ।

तर, यहाँ विकृति आयो । हुनेखानेहरुका लागि कोरोनाका कहरमा पनि कमाइ भइनै रहने । तर, जो काम गरिखाने वर्ग उनीहरुका लागि सबैभन्दा बढी शास्ती रह्यो । काम गर्ने ठाउँबाट निकालिदिने, अर्को कुनैठाउँमा काम नपाइने । यसो हुँदा उनीहरु सडकमा पुग्ने अवस्थाको सिर्जना भएकाले विकल्पमा सरकार चाहिएको हो । सर्तकतापूर्ण काम गरेर अहिले सङ्कटमा उनीहरुको जीवन बचाउनु राज्यको दायित्व हो ।

कोरोनाका कारण जताततै बिचल्ली छ । सबैमा एउटै त्रासले घर गरेको छ । यस्तो बेला मानिसहरु डिप्रेशनको शिकार हुनेपनि गरेका छन् । गत वर्षका केही घटनाहरुले यो देखाएको कुरा हो । यस्तो बेला सरकारी तथा गैर सरकारी सबै किसिमका निकायहरुले नयाँ कुनै किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

सामान्य अवस्थामा विकासको नारा घन्काउने र अधिकारकोको वकालत गर्नेहरुले यस्तो बेला सावधानीको स्वास्थ्य सुरक्षाका सन्देश लिएर गाउँ–गाउँमा जानु पर्दैन र ? कसैले केही गरेन भने हामीले पनि केही नगर्ने भन्ने पनि हुन्छ र ?

यो त महत्वपूर्ण अवसर हो । यसबेला सकरात्मक सोचको विकास गरेर भावि योजना निर्माण गर्ने सुनौलो अवसर पनि त यसलाई लिन सकिन्छ । ठुला–ठुला सपना सुतेर देख्नेहरुलाई जागै योजना निर्माण गरेर त्यसलाई अन्तिम स्वरुप प्रदान गर्ने समयका रुपमा पनि यसलाई ग्रहण गरे कसो नहोला र ? यसैलै यो समयमा तनाव होइन रचनात्मक बनौँ । कोरोना महामारी हो कालघारी होइन । सबैको ध्यान जावस् । शुभकामना !

तपाईको प्रतिक्रिया