पर्यटन प्रवद्र्धनको दिगो विकास गर्न मुडेमा होमस्टे सञ्चालनको तयारी

Halesi Khabar

खोटाङ, २३ वैशाख । स्थानीयस्तरमा रोजगार अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनको दिगो विकास गर्ने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा होमस्टे (घरबास) सञ्चालनको पहल थालिएको छ । घुम्न तथा दृश्यावलोकन गर्न आउने पर्यटकलाई आफ्नो घर वा समुदायमा निजी वा सामुहिक रुपमा आवास, खाना र अन्य सेवा प्रदान गर्दै स्थानीय बासिन्दाको आर्थिक आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले मुडेमा होमस्टे सञ्चालनको पहल थालिएको हो ।

होमस्टे सञ्चालनका लागि प्रारम्भिक चरण अन्तरगत मुडे तथा आसपासका स्थानीय बासिन्दालाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्राविधिक सहयोग र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा खोटाङ उद्योग वाणिज्य सङ्घले एक हप्ते होमस्टे तालिमसमेत प्रदान गरेको छ । नगरपालिकाभित्र पर्ने पर्यटकीयस्थलमा होटल व्यवसाय गरिरहेका व्यवसायी एवम् इच्छुक स्थानीय बासिन्दालाई सहभागी गराएर सञ्चालन गरिएको तालिममा ४० जनाको सहभागिता रहेको थियो ।

होमस्टे तालिममा बुइपा–महुरे–नुनथला–हुर्लुङ–मुढे–तालखर्क–भुलभुले जोड्ने सडक आसपासका स्थानीय होटल व्यावसायी एवम् इच्छुक स्थानीय बासिन्दालाई सहभागी गराइएको वाणिज्य सङ्घका अध्यक्ष उपीनकुमार राईले बताउनुभयो । बुइपामा निर्माणाधीन यलम्बर पार्क, महुरे गढी, नुनथला, हुर्लुङ, रुपाकोट भ्यू टावर, मझुवागढी, पेनटावर, भुलभुले दूधकुण्ड लगायतका पर्यटकीयस्थल आसपासमा रहेको होमस्टेको सम्भावनालाई ध्यान दिएर तालिमको आयोजना गरिएको हो ।

तालिममा सहभागीलाई पर्यटन र पर्यटक सम्बन्धी आवश्यक जानकारी, होमस्टे सञ्चालन तथा व्यवस्थापन, पाहुनाको स्वागत र सत्कार, सरसफाइ, स्थानीयस्तरमा उत्पादन हुने खाद्य तथा पेय सेवा, खाद्य उत्पादन तथा नियन्त्रण, प्राथमिक उपचार तथा लागू औषध, आचार संहिता र स्थानीय पर्यटकीय गतिविधि योजना तथा बजारीकरण लगायतका बारेमा जानकारी दिइएको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानहरुमा होमस्टे व्यवस्थापन तथा स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थको उपयोग गरी पर्यटकलाई पारिवारिक वातावरणमा सत्कार र सेवा उपलब्ध गराउँदै स्थानीय कला, सँस्कृति तथा पर्यटकीय गतिविधि सम्बन्धी आवश्यक जानकारी गराउन र समग्रमा पर्यटकलाई गुणात्मक सेवा प्रदान गर्न होमस्टे तालिम उपलब्धिमुलक भएको अनुमान गरिएको छ ।

होमस्टेको अर्थ पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो घर वा समुदायमा निजी वा सामुहिक रुपमा सञ्चालन गरिएको सेवा भन्ने बुझिन्छ । होमस्टेले ग्रामीण क्षेत्रका स्थानीय जनतामा स्वरोजगार सिर्जना हुने र आम्दानी वृद्धिको माध्यमबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन टेवा पुग्ने भएकाले पहिलो चरणमा मुडेडाँडामा बुद्धिष्ट सँस्कारसँग आधारित होमस्टे सञ्चालनको पहल थालिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभएको छ ।

प्राकृतिक रुपमै पर्यटकीय क्षेत्र रहेको मुडेमा नगरपालिकाको पहलमा होमस्टे सञ्चालन हुने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ४५ मिनेट पैदल उक्काले चढेपछि पुगिने मुडेडाँडा पर्यटकीय हिसाबले निक्कै सम्भावना बोकेको स्थानमा पर्दछ ।

समुन्द्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाईमा पर्ने पर्यटकीयस्थल मुडेबाट सर्वोच्च शिखर सगरथामाथा तथा उच्च हिमाली भेगका साथै तराईका फाँटहरुको दृश्यावलोक गर्न सकिन्छ । घाम झुल्केको तथा अस्ताएको दुवै देख्न पाइने मुडेडाँडामा तामाङ र शेर्पा जातिको बाक्लो बस्ती रहेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा पनि होमस्टे सञ्चालनको पहल थालिएको थियो । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी दर्शन तथा अवलोकन गर्न आउने तीनवटै धर्मालम्बीलाई लक्षित गरेर छुट्टाछुट्टै होमस्टे सञ्चालनको पहल थालिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा ऐसेलुखर्कमा किराँत सँस्कारमा आधारित होमस्टे सञ्चालनको तयारी गरिएको हलेसी विकास समितिका अध्यक्ष टंक राईले बताउनुभयो । “तीनवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरेर होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ”, पूर्व सांसदसमेत रहनुभएका अध्यक्ष राईले भन्नुभयो, “होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धन हुनुका साथै स्थानीय बासिन्दालाई आत्मनिर्भरताको बाटोमा डोहो¥याउने अपेक्षा गरिएको छ ।”

माथिल्लो माल्खुमा यसअघि नै व्यवसायिकरुपमा गाई, स्थानीय जातका कुखुरा, टर्की, परेवा लगायत पशुपन्छी पालन तथा तरकारी खेती गर्दै आउनुभएका सुवीन्द्र गिरीको अध्यक्षतमा समिति गठन गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ । त्रिधार्मिकस्थल हलेसीबाट ककनी मन्दिर जाने बाटोमा पर्ने २२ घर क्षेत्री÷बाहुन समुदायको बस्ती रहेको माथिल्लो माल्खुमा हिन्दु सँस्कार अनुसार बालन, सँगीनी, चुट्का लगायतका नाच सिक्ने÷सिकाउने कामसमेत भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया