जाम्बाला रिर्सोटका कामदार सुतेकै ठाउँमा मृत फेला

Halesi Khabar

खोटाङ, १९ वैशाख । त्रिधार्मिकधाम खोटाङको हलेसीस्थित जाम्बाला रिसोर्टका कामदार सुतेकै ठाउँमा मृत भेटिएका छन् । धादिङको सुनौलोबजार घर भएका अन्दाजी ४४÷४५ वर्षीय एकबहादुर ठकुरी गएराति सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

यही वैशाख १ गते हलेसी आइपुगेका ठकुरी बेलुका खाना खान नआएपछि कोठामा हेर्न जाँदा कोठामै मृत फेला परेको रिसोर्टका कर्मचारी शुस्मा बिसीले जानकारी दिनुभयो । उनले प्रयोग गरेको मोबाइलको कल डिटेल्स हेर्दा बेलुका ६ बजे आफन्तसँग कुराकानी गरेका मृतक ठकुरी रिसोर्टका किचेन कामदार रहेका थिए ।

मृतकको शव परीक्षण गर्न जिल्ला अस्पताल दिक्तेल पठाउने तयारी गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्कीले बताउनुभयो । ठकुरीको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सुतेकै ठाउँमा ठकुरीलाई मृत फेला पारेपछि उनका आफन्त तथा प्रहरीलाई गएराति नै जानकारी दिइएको रिसोर्टले जनाएको छ । धादिङबाट मृतकका आफन्त हिँडेको र आइपुगेपछि उनको शव परीक्षण गरेर जिम्मा लगाउने तयारी गरिएको छ ।

मृतक ठकुरी मादक पदार्थ तथा धुमपानसमेत सेवन नगर्ने व्यक्ति भएकाले उनको मृत्युबारे कुनै अनुमान गर्न नसकिएको रिसोर्टले जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण कर्मचारी र कामदारमात्र रहेको रिसोर्टमा भएको घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दैनिकजसो दर्शनार्थीको भीड लाग्ने त्रिधार्मिकधाम हलेसी मन्दिर तथा बजार यहि वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको आकस्मिक बैठकले उक्त रिसोर्ट तथा हलेसी मन्दिर यही वैशाख १५ गतेबाट बन्द गरेको हो ।

तपाईको प्रतिक्रिया