बाक्सिला र बुइपा एलाभेन स्पोर्टस् क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

Halesi Khabar

खोटाङ, १८ वैशाख । जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत (ए) डिभिजनमा बाक्सिला फुटबल क्लब र (बी) डिभिजनमा बुइपा एलाभेन स्पोर्टस् क्लब च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको राजाबासस्थित यलम्बर खेलमैदानमा शनिबार सम्पन्न जिल्ला लिगको (ए) डिभिजनतर्फ ११ अङ्कसहित बाक्सिला फुटबल क्लव लिग च्याम्पियन बनेको हो ।

(ए) डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने आयोजक जिल्ला फुटबल सङ्घका प्रवक्त सनम राई (जोजो)ले जानकारी दिनुभयो । यस्तै, दश अङ्कसहित सोल्मा स्पोर्टस् क्लब रनरअप र नौँ अङ्कसहित खारम्बु स्पोर्टस् क्लब तेस्रो भएको आयोजकले जनाएको छ ।

ेटाङ भगवती स्पोर्टस् र हलेसी तुवाचुङ फुटबल क्लबले पाँच÷पाँच अङ्कसहित (ए) डिभिजनमा आफ्नो स्थान कायम राखेको छ । (ए) डिभिजनमा रहेको खोटाङ फुटबल एकेडेमी भने (बी) डिभिजनमा ओर्लिएको छ ।

यही वैशाख ११ गतेबाट शुरु भएको प्रतियोगितामा (बी) डिभिजनतर्फ नौँ अङ्कसहित बुइपा एलाभेन स्पोर्टस् क्लब लिग च्याम्पियन बनेको छ । प्राप्त अङ्कका आधारमा बुइपा एलाभेन स्पोर्टस् क्लब (बी) डिभिजनमा उक्लिन सफल भएको छ ।

चार अङ्कसहित जन्तेढुङ्गा फुटबल क्लब दोस्रो र तीन अङ्कसहित नमूना स्पोर्टस् क्लब तेस्रो भएको प्रवक्ता राईले बताउनुभयो । (बी) डिभिजन लिगमा नुनथला फुटबल क्लबले एक अङ्कमात्र प्राप्त गरेको जनाइएको छ ।

जिल्ला लिगमा (ए) डिभिजनतर्फ छवटा क्लब र (बी) डिभिजनमा चारवटा क्लबबीच प्रतिस्पर्धा भएको थियो । गत वर्षको लिगमा प्राप्त गरेको अङ्कको आधारमा जिल्लाका छवटा क्लब (ए) र चारवटा क्लब (बी) डिभिजनमा परेको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो । एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घले जिल्लाकै इतिहासमा पहिलोपल्ट वि.सं. २०७६ सालमा जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

वि.सं. २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई वि.सं. २०७५ सालमा अस्थायी र वि.सं. २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको थियो । पूर्वी पहाडी जिल्ला खोटाङले एन्फाको सदस्यता पाएसँगै फुटबल खेल क्षेत्रको विकासले गति लिने अपेक्षा गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय फुटबल खेललाई प्राथमिकतामा राखेर हरेक स्थानीय तहमा खेलमैदान निर्माण तथा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । हरेक स्थानीय तहमा एक÷एकवटा पालिकास्तरीय तथा हरेक वडामा वडास्तरीय खेल गराउने मिल्नेगरी खेलमैदान निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया