आगो लाग्दा दम नपुग्ने दमकल

Halesi Khabar

–भीम राई
केही समय अगाडि खोटाङ जिल्लाबाट नागरिक दैनिकका लागि समाचारदाता दमन राईले एउटा लामो समाचार छपाए । त्यही समाचार नागरिक न्यूज डटकममा पनि प्रकाशन भयो । समाचार थियो खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा रहेको दमकलको विषयमा । ‘आगलागीमा दमकल नै बेकम्मा’ शीर्षकमा आएको समचार अनुसार २०७२ सालमा ल्याइएको दमकल नेपाल सरकारको रु ६० लाख र नगरपालिकाको रु आठ लाख ५० हजार परेको हो ।

दमकल ल्याएपछि बजारमा आपत विपद पर्दा यसले महत्वपूर्ण सहयोग पु¥याउला भन्ने आशा आम नागरिकमा रहनु ठुलो कुरा भएन तर, आशा आशामा मात्र सिमित भएको छ । त्यसपछि नगरपालिकाभित्र खासगरी बजार क्षेत्रमै धेरै घटनाहरु भएपनि यसको प्रभावकारिता शुन्य रह्यो ।

दमकल कहिले किनियो, कहाँबाट ल्याइयो, दमकलको रङरोगन कस्तो थियो देखि कहिले कहिले कहाँ कहाँ कसरी प्रयोग भए भन्नेबारे सबै नालीबेली समेटिएको समाचार पढेपछि केही न केही मनमा प्रश्न उठ्ने नै भयो ।

बजार क्षेत्रमा भएका आगलागीका घटनाहरुमा बल्लतल्ल दमकल पु¥याइने भएपनि आगो निभाउने भन्दापनि रमिता देखाउनेमात्र काम हुन्छ । यसको प्रभावकारी उपयोग गर्ने जनशक्ति नहुनु एउटा मुल समस्या हो भने अर्को खरिद गर्दै सेकेण्ड हेण्ड दमकल हो की भन्ने आशंका बजारबासीले त्यही बेला गरेका थिए । त्यसको पुष्टि रङरोगन उप्किन थालेपछि पत्याउनै पर्ने जस्तो देखिन्छ । यो समस्या हो । अग्नीनियन्त्रक जनशक्ति नहुनु र दमकल आफैमा बिग्रिरहनुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकलमा कुनै दम देखिएको छैन ।

हुनपनि अहिले जताततै आगलागीको घटना सुनिन्छ । डढेलो लागेर वनजङ्गल नष्ट हुनेक्रम जताततै रहेको छ । आगोका कारण मानवीय क्षति कम भएपनि जनधनको क्षति व्यापक छ । आगो कसरी उम्कियो भन्ने विषय पनि अहिले गम्भीर रुपमा उठ्ने त गर्छ तर, समाधान भने खोजी गरिदैन । आगोलागी हुनबाट बच्ने जनहितमा जारी सूचनाहरु व्यापक सुनिन्छ पढिन्छ । तर, कसले केबाट भन्ने कुरालाई गौण विषय बनाइन्छ । यो अहिलेको जटिल समस्या हो ।

खासगरी आगोको मुख्य कारणका रुपमा विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिन्छ । कहीँ कहीँ खाना पकाउने ग्याँस लिक भएर आगोलागी भएको भनिन्छ । कतै मानिसले भुलबस आगो उम्काएको पनि सुनिएको छ । यी नै कारणहरु नै आगो लाग्नु फैलनुको प्रमुख कारण त होलान् । तर, कहिलेकाहीँ प्राकृतिक हिसाबले पनि आगोलागी भएका छन् । चट्याङको कारण आगोलागी भएको कुराहरु समेत हामीले सुनेका छौँ । यी सबै मानवीय त्रुटि कै कारण भएका छन् । प्राकृतिप्रकोप दोस्रो कुरा रह्यो ।

हामी र हाम्रो समाजमा सामाजिक चेतनाको कमी र उच्च सतर्कताको अभावले गर्दा जोखिममा परिरहने मध्येका हामी नै हौँ । आगजनीबाट क्षति ब्यहोर्ने पनि हामी नै हौँ यसमा कुनै शंका छैन । तर, सम्बन्धित निकाय वा सरोकारवाला कार्यालयहरुले विज्ञापन छापेको भरमा मात्र आगालागी जोखिम घट्दैन । यसका लागी सामाजिक चेतनाको विकास गर्न जरुरी छ ।

आकस्मिक हुने यस्ता घटनाहरुको बारेमा ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्र जहाँसुकै भएपनि जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु बनाउनुपर्दछ । प्राकृतिप्रकोपको जोखिम रहेका स्थानहरुमा वैकल्पिक विधिहरु अपनाउन सकिने सम्भावना खोज्नुपर्दछ ।

सामन्यतया वनमा डढेलो लागीहालेमा के गर्ने भन्ने चेतनाको विकास गराउन सम्बन्धित निकायले चासो राख्नै पर्दछ । अहिले वनसँग सम्बन्धित सरकारी, गैरसरकारी ंसंस्थाहरु बग्रेल्ती छन् । यसले घटना न्यूनीकरणको कार्यविधि तयार गर्न सक्नु पर्दछ । प्रत्येक सामुदायिक वनले जोखिम न्यूनीकरणको विधि अपनाएका छन् छैनन् अनुगमन गर्ने, चेतना अभिविृद्धका लागि कार्यक्रमहरुको तर्जुमा गर्न सकेमात्र पनि केही हदसम्म जोखिम न्यूनीकरण हुन सक्दछ ।

डढेलो नियन्त्रण गर्न अग्नीरेखाको निर्माण, घर तथा आवासहरुमा आगलागी भै हालेमा नियन्त्रण गर्ने प्रविधिहरु बजारमा आइसकेका छन् । त्यसलाई व्यापक उपयोग गर्ने योजनाहरु निर्माण गर्न सकियो भने समस्याबाट केही उन्मुक्ति मिल्न सक्दछ । यसका लागि परिआएकोबेला अतालिने भन्दा अगाडि सावधानीका उपायहरुको खोजी गरिनुपर्दछ ।

पहिलो कुरा आफू सचेत र सावधान भएर मात्र सुरक्षित हुन सकिन्छ भन्ने कुरालाई विचार नगरेसम्म समस्या ज्यूँका त्यूँ रहन्छ । यसका लागि मुख्यतया सचेतना हो । सचेतनाका लागि स्थानीय सरकारले विशेष कार्यक्रमहरु निर्माण गर्नुपर्दछ । परिसकेपछि राहत बोकेर दौडनुभन्दा पहिले सचेतनाका लागि कार्यक्रमहरु निर्माण गरेर अगाडि बढ्न सकेमा सफल नहुने भन्ने प्रश्न आउँदैन । नत्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ल्याएको दम नभएको दमकलकै मात्र भरोसाले जोखिमबाट बच्न गाह्रो हुन्छ ।

तपाईको प्रतिक्रिया