खोटेहाङमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता आजबाट शुरु

Halesi Khabar

खोटाङ, १२ वैशाख । खोटाङको खोटेहाङ गाउँपालिकामा चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको शुरु गरिएको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आइतबारदेखि चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता शुरु गरिएको हो ।

वैशाख १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता भगवती दिनानाथ मावि खोटाङबजारको प्राङ्गणमा गाउँपालिका प्रमुख प्रदीप राईले औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । वैशाख १५ गते पर्ने गाउँपालिकाको वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा खोटाङ, ओखलढुङ्गा, उदयपुर र भोजपुरका गरी पुरुषतर्फ २३ समूह र महिलातर्फ आठ समूहको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो तथा दुई वटा सेमिफाइनलिष्टलाई क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, अनुशासित समूह, उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर र उत्कृष्ट स्पाइकरले जनही रु ५÷५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाले जनाएको छ ।

चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका उपप्रमुख कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शैक्षिक संस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । कोरोना भाइरसका कारण स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया