प्रधानमन्त्री ओलीले गरे धरहराको उद्घाटन, सर्वसाधारणका लागि तत्काल खुला नहुने

Halesi Khabar

काठमाडौँ, ११ वैशाख । वि.सं. २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको हो ।

धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै प्रधानमन्त्री ओलीले घरघरमा साँझ दीपावली गर्न आव्हान गर्नुभयो । ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो,’ उहाँले भन्नुभयो ।

भूकम्पले भत्किएको धरहराको भग्नावशेषलाई कायमै राखेर नयाँ बनाइएको छ । पुनर्निर्माण भनिए पनि यो नवर्निर्माण हो ।

बाहिरबाट हेर्दा पुरानै स्वरुपमा देखिने यो धरहरा आधुनिक सामग्री प्रयोग गरेर बनाइएको छ । उद्घाटन भएपनि सर्वसाधारणका लागि यो तत्काल खुला हुने छैन ।

धराहरा बनेपनि अरु संरचना निर्माण भइरहेकाले सार्वसाधारणलाई खुला नहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवम् चारतल्ले मुद्रा संग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया