व्यवसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि

Halesi Khabar

खोटाङ, ६ वैशाख । वैदेशिक रोजगारमा संलग्न खोटाङका ७६ प्रतिशत परिवारका सदस्यले व्यवसायिक योजना बनाएर आयआर्जन शुरु गरेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले गरेको सर्वेक्षण अनुसार वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले आफ्नो घरमा योजना बनाएर विभिन्न व्यवसायबाट आयआर्जन शुरु गरेका हुन् ।

परियोजनाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा सहभागीमध्ये ८७ प्रतिशले वित्तीय लक्ष्य तथा पारिवारिक बजेट बनाउने गरेको, ९७ प्रतिशतले आम्दानी र खर्चको हिसाब राख्न थालेको र ९१ प्रतिशतले बचत वृद्धि गरेको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिनुभयो । वित्तीय साक्षरता कक्षाकै सिकाइका कारण ९२ प्रतिशत (३५७ जना)ले विदेशमा रहेका आफन्तबाट महत्वपूर्ण कागजातको फोटोकपी घरमा मगाएको सामीले जनाएको छ ।

वैदेशिक रोजगार सम्बन्धी आवश्यक सूचना तथा परामर्श सेवा पाएका एक हजार ४८८ जनामध्ये १२ प्रतिशत विदेश गएको, त्यसमध्ये ५३ प्रतिशतले सीप सिकेर विदेश गएको, ८७ प्रतिशतले परिवारमा कागजपत्र छाडेको र ३६ प्रतिशतले आफूले एजेण्टलाई पैसा तिरे बराबरको भर्पाई लिएको पाइएको कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो । यस्तै, आर्थिक वर्ष २०७६÷०७७ र आर्थिक वर्ष २०७७÷०७८ मा वैदेशिक रोजगारको सिलसिलामा भएका ठगी, खोजी, उद्दार जेल, मृत्युदावी भुक्तानी तथा अङ्गभङ्ग लगायतका ५८ वटा केश आएकामध्ये २९ वटा सफल भएको, २२ वटा प्रकृयामा रहेको र सात वटा असफल भएको परियोजनाले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा ठगीका नयाँ–नयाँ शैली अपनाइएको पाइएको सामीका जिल्ला कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिनुभयो । परियोजनाले सोमबार दिक्तेलस्थित बालसेवा समाजको कार्यालयमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रीया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दीपपनारायण रिजाल र उपप्रमुख विणादेवी राईसमेत सहभागी हुनुभएको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुको प्रतिनिधित्व गर्नुहुँदै वरिष्ठ पत्रकार कृष्ण आचार्यले वैदेशिक रोजगारीमा जाने जिल्लाका युवापुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । “सामी परियोजनाले युवापुस्तालाई विभिन्न बहानमा विदेश पठाउने काम गरेको छ”, उहाँले भन्नुभयो, “वर्षेनी विदेशिने युवापुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार हुने वातावरण स्थानीय सरकारले बनाउनुप¥यो । अनिमात्र सरकारले ल्याएको ‘समृद्ध देश, सुखी नेपाली’ भन्ने नारा साकार हुन्छ ।”

पत्रकार आचार्यको भनाइलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख रिजालले नगरपालिकाको तर्फबाट युवापुस्तालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन विभिन्न कार्यक्रमहरु अघि सारिएको बताउनुभयो । “वैदेशिक रोजगारीमा जान चाहने युवापुस्तालाई तत्काल रोक्ने स्थिति त छैन”, उहाँले भन्नुभयो, “क्रमिकरुपमा स्वरोजगारमूलक कार्यक्रमहरु लागू गरेर विदेश जाने युवालाई आफ्नै क्षेत्रमा स्वरोजगार बनाउने योजनामा छौँ ।”

नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाजद्धारा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेको छ । वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमुलक बनाउने लक्ष्यका साथ परियोजनाले सूचना तथा परामर्श सेवा, निःशुल्क सीप तथा तालिम, निःशुल्क कानूनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता कक्षा सञ्चालन, सामाजिक परिचालन लगायतका काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया