राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढीलाई

Halesi Khabar

खोटाङ, ६ वैशाख । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सोमबार सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा २२ स्वर्ण, ११ रजत र नौँ काँस्य पदकसहित उक्त नगरपालिकाले १२ औँ सँस्करणको उपाधि चुमेको हो ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नौँ स्वर्ण, नौँ रजत र छ काँस्य पदकसहित हलेसी तुवाचुङ नगरपालिका दोस्रो तथा चार स्वर्ण, चार रजत र एक काँस्य पदकसहित ऐसेलुखर्क गाउँपालिका तेस्रो भएका छन् । दुई स्वर्ण, दुई रजत र चार काँस्य पदकसहित रावाबेँसी गाउँपालिका चौथो तथा एक स्वर्ण, एक रजत र दुई काँस्य पदकसहित दिप्रुङ चुइचुम्मा गाउँपालिका पाँचौँ भएको आयोजक जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो ।

जिल्लास्तरीय प्रतियोगिताका विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८६ स्वर्ण, ८६ रजत र ८६ काँस्य पदकगरी जम्मा २५८ पदकका लागि प्रतिस्पर्धा गराइएको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा सञ्चालित १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पाँच स्थानीय तहका खेलाडीमा मात्र सहभागी भएको आयोजकले जनाएको छ । पाँच स्थानीय तहका खेलाडीले प्रतियोगितामा सहभागी हुन केन्द्रबाट विनियोजन भएको बजेट अपुग भएको भन्दा सहभागी नभएको जनाइएको छ ।

१२ औँ सँस्करणको प्रतियोगितामा सहभागी नभएका स्थानीय तहलाई पनि आगामी दिनमा सञ्चालन हुने प्रतियोगितामा सहभागी गराउनेगरी तयारी थालिएको आयोजक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले जानकारी दिनुभयो । “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नका लागि भनेर एउटा स्थानीय तहमा रु एक लाखमात्र बजेट आउने गरेको छ”, उहाँले भन्नुभयो, “पालिका, जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी गराउन कम्तिमा पनि रु पाँच लाख बजेट आवश्यक पर्ने देखिन्छ । आगामी दिनमा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर सबै स्थानीय तहलाई सहभागी गराउने योजना बनाएका छौँ ।”

जिल्लास्तरीय प्रतियोगितामा छात्रछात्रा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, कबड्डी र एथलेटिक्सगरी पाँच विद्यामा प्रतिस्पर्धा गराइएको थियो । जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि ८४ जना खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ ।प्रदेश नं. १ को राजधानी विराटनगरमा यही वैशाख १० र ११ गते प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन हुँदै छ । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, कबड्डी र एथलेटिक्सका खेलाडी पठाउने तयारी गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया