त्रिधार्मिक धाम हलेसीमा वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गरिने

Halesi Khabar

खोटाङ, २४ चैत । त्रिधार्मिक धाम खोटाङको हलेसीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देशविदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामुहिक लगानीमा हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको हो ।

करीब रु पाँच करोडको लागतमा निर्माण सम्पन्न हुने फनपार्क प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आइतबार शिलान्यास गर्नुभएको थियो । पत्रकार अनुज खड्का, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य निरजमानसिंह बस्नेत लगायत चार युवाको लगानीमा हलेसीमा फनपार्क निर्माणको काम शुरु गरिएको हो ।

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी दर्शनका निम्ति आउने दर्शनार्थी एवम् पर्यटकलाई घुमफिरका लागि उपयुक्त मनोरन्जनस्थलका रुपमा फनपार्कको योजना अगाडि सारिएको निर्माता बस्नेतले बताउनुभयो । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने हलेसीमा निर्माण हुने फनपार्कमा टायर गार्डेन, जङ्गल रिसोर्ट, पाईनापल (भुइँकटहर) गार्डेन, चिडिया घर, मिनि मार्केट, बेम्बो कटेज, नाटक गृह, रोधीघर, सेल्फीजोन र बोतल हाउस निर्माण गरिने जनाइएको छ ।

पर्यटकको मनोरञ्जनका निम्ति रुखमाथि निर्माण गरिएको ट्री हाउस, बाँसबाट बन्ने हवाइजहाज, बस तथा अन्य सामग्री, फोटो खिच्नका निम्ति आकर्षक कलाकृति, पुराना टायरद्वारा निर्माण गरिने टायर गार्डेन, बियरका खाली सिसि प्रयोग गरेर निर्माण गरिने आकर्षक घर टहरा लगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ । यसका अलवा पार्कमा नेपालमा थोरै मात्र पाइने र विश्वभरबाट सङ्कलन गरिएका पन्छीको सङ्ग्रहालय पनि राखिने बताइएको छ ।

हलेसी मन्दिरबाट उत्तर–पश्चिममा निर्माण हुने सो फनपार्कमा रुखमा झुन्डिएको चराको गुड आकृतिको मान्छे बस्न मिल्ने टहरा, उत्पादन पनि दिने र आकर्षक देखिने भुइकटहर तथा घिउकुमारीको गार्डेन र विभिन्न प्रजातिका फूलबारी पनि निर्माण गर्ने उद्देश्य छ । फनपार्क निर्माता समूहमा सकेसम्म खोटाङका युवालाई प्राथमिकता दिने जनाइएको छ ।

फनपार्क निर्माणमा क्रमशः दशदेखि १५ जना युवा समेट्ने योजना रहेको बस्नेतले बताउनुभएको छ । स्थानीय युवाले लगानी गर्न नचाहेको खण्डमा बाहिरी जिल्लाका लगानीकर्तालाई भित्र्याइने जनाइएको छ ।

सामुहिक लगानीबाट एउटा आकर्षक पर्यटन गन्तव्य थलोको निर्माण गर्न लागिएकाले ईच्छुक युवा संलग्न हुन सक्ने निर्माता एवम् पत्रकार खड्काले बताउनुभयो । हलेसीमा निर्माण हुन लागेको हलेसी वाईल्ड एड्भेन्चर एण्ड फनपार्कको शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री राईले देशको विकासमा पर्यटनको महत्वपूर्ण भूमिका रहने भएकाले पर्यटनको विकासमा स्थानीय युवा अग्रसर हुनुपर्ने बताउनुभयो ।

हलेसीमा केही युवाको सक्रियतामा बन्न लागेको फनपार्कले सिङ्गो समाज र देशमा सामुहिक लगानीको उदाहरण प्रस्तुत गरेको मुख्यमन्त्री राईको भनाइ थियो । सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले नीजि क्षेत्रलाई समेत प्रोत्साहित गर्दै समृद्धिको लक्ष्य हासिल गर्न लागिपरेकाले युवाले यसमा हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

हलेसीमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ढुङ्गे बगैँचा (रक गार्डेन), धर्मशाला, घरबास (होमस्टे) लगायत भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ । हलेसीमा दर्शनार्थी तथा झक्तजनको भीड बढ्दै गएपछि सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट र व्यापार व्यवसाय गर्नेको सङ्ख्या पनि वृद्धि भइरहेको छ ।

धार्मिक रुपमा मात्रै नभएर प्राकृतिक रुपलेसमेत विश्वप्रसिद्ध हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नगरपालिका, हलेसी विकास समिति र मन्दिर व्यवास्थापन समितिको संयुक्त लगायनीमा सिसी क्यामेरा जडान गरिएको छ । मुख्य गुफाभित्रको महादेवथान, पर्वतीथान, बसाहा गुफा, मन्दिर प्रवेश द्धार, सूचना केन्द्र, रिठ्ठाबोटे, साल्पा बैङ्क चोक, हलेसी भिलेज होटल क्षेत्र, ट्राफिक चोक, ग्यारेज, डाँडाबजार लगायतका स्थानमा सिसि क्यामेरा जडान गरिएको हो ।

हलेसीमा नेपालका सबै जिल्लाका साथै अन्य देशहरु भारत, चिन, भुटान, बंगलादेश, जापान, अमेरिका, थाईल्याण्ड लगायतबाट भक्तजन एवम् दर्शनार्थी आउने गरेका छन् । विश्वप्रसिद्ध हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ ।

तपाईको प्रतिक्रिया