नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङको अध्यक्षमा फुर्वा शेर्पा

Halesi Khabar

खोटाङ, २२ चैत । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद खोटाङको अध्यक्षमा फुर्वा शेर्पा चयन हुनुभएको छ । ‘भाषा, सँस्कार, सँस्कृति र पहिचानको संरक्षण गरौँ, सह–अस्तित्वसहितको समानुपातिक समावेसी समाज निर्माण गरौँ’ भन्ने मूल नाराका साथ सम्पन्न तेस्रो अधिवेशनबाट शेर्पा जिल्ला समन्वय परिषद्को अध्यक्षमा चयन हुनुभएको हो ।

जिल्ला समन्वय समितिको समिक्षालय हलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा एलबी मगर र कृष्णकुमारी तामाङ, सचिवमा उदिम चाम्लिङ, सह–सचिवमा उत्सव सुनुवार, सौराज राई र गोमा राई तथा कोषाध्यक्षमा किसन भुजेललाई सर्वसम्मत चयन गरेको छ । निस्पना मगर, चित्रकला भुजेल, सविना राई, प्रेमलमु शेर्पा, पर्शुराम तामाङ, रामबहादुर माझी, डाकिमा शेर्पा र मनकाजी गुरुङ परिषद्को सदस्य चुनिनुभएको छ । नेवार समुदायबाट भने एक उपाध्यक्ष र एक जना सदस्य चयन गर्न बाँकी छ ।

नेवा खल खोटाङले संस्थागत निर्णय गरेर उपाध्यक्ष र सदस्य सिफासिर गर्ने जनाइएको छ । जनजाति महासङ्घको आगामी जेठ १९, २० र २१ गते सुर्खेतमा हुने राष्ट्रिय महाधिबेसनलाई लक्ष्यित गर्दै जिल्ला अधिवेशन गरिएको हो ।

आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषदको अधिवेशन शनिबार प्रदेशसभा सदस्य राजन राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सदस्य राई, जिल्ला समन्वय समितिका सदस्य अडिराम राई, नेकपा एमाले (नेपाल समूहका जिल्ला सचिव जलशेर राई, नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डे ‘आकाश’, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापा, उद्योग बाणिज्य सङ्घका अध्यक्ष उपीनकुमार राई, गैर–सरकारी संस्था महासङ्घका अध्यक्ष दानबहादुर राई लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

महासङ्घको नयाँ नेतृत्वले आगामी जनगणना २०७८ मा भाषा, सँस्कृति र पहिचानका विषयमा आवश्यक नीति, योजना तथा कार्यक्रम तय गर्ने जनाएको छ । अधिवेशनमा जिल्लामा क्रियासिल १२ वटा जातीय सङ्घसङ्गठनकातर्फबाट दुई–दुई जना प्रतिनिधि र पर्यवेक्षक तथा दश स्थानीय तहमा गठन गरिएको जनजाति महासङ्घको तदर्थ समन्वय परिषदबाट दुई–दुई जना सहभागी गराइएको थियो । अधिवेशसन उद्घाटनकाक्रममा आदिवासी जनजातिको मौलिक तथा साँस्कृतिक भेषभुषा सहितको झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

खोटाङमा राई, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, भुजेल, माझी, लिम्बू, थामी, सुनुवार र चौधरीको बसोबास छ । त्यसमध्ये नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषदमा दश जातजातिको प्रतिनिधित्व रहेको छ ।

 

तपाईको प्रतिक्रिया