पत्रकार महासङ्घको चुनाव : ४९ पदाधिकारीका लागि १५२ उम्मेदवारी

Halesi Khabar

काठमाडौँ, २० चैत । नेपाल पत्रकार महासङ्घको चुनावी सरगर्मी बढेको छ । आगामी चैत २५ गते हुने महासङ्घको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार सङ्गठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि निर्वाचनको तयारी तीव्र पारिएको छ । महासङ्घको केन्द्रीय निर्वाचनका लागि वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ ।

निर्वाचन मण्डलले सम्पूर्ण तयारी पूरा गरेको र मतपत्र प्रकाशन गरी प्रदेश तथा जिल्ला शाखामा पठाउने तयारी थालेको संयोजक काफ्लेले जानकारी दिनुभयो ।

४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी
चैत २५ गते हुने महासङ्घको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासङ्घको निर्वाचन मण्डलका संयोजक कपिल काफ्लेले जानकारी दिनुभयो । महासङ्घको यस वर्षको निर्वाचनमा १३ हजार १२२ मतदाता रहेका छन् ।

केन्द्रीय समितिका ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ । प्रदेश तहका लागि परेको उम्मेदवारीको अन्तिम नामावली प्रकाशित हुन बाँकी छ ।

जिल्ला र प्रतिष्ठान तहको निर्वाचनका लागि चैत २२ गते मनोनयन दर्ता हुँदैछ । प्रदेश संरचनामा महासङ्घमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ ।

सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ । ७ प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ ।

उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ । एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ ।

एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार सङ्घ, खेलकुद पत्रकार सङ्घ र वातावरण पत्रकार समूहको सहभागिता छ । त्यस्तै प्रतिष्ठानहरुबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ ।

जिल्लाबाटै मतदान, यस्तो छ प्रक्रिया

महासङ्घको निर्वाचनका लागि केन्द्रमा वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोेजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ । काफ्लेबाहेक अन्य ६ सदस्यमा अधिवक्ताहरु छन् ।

यस्तै महासङ्घको जिल्ला शाखाको निर्वाचनका लागि एक जना संयोजकसहित तीन सदस्यीय निर्वाचन मण्डल बनाइएको छ । जसमा एक वरिष्ठ पत्रकार, एकजना अधिवक्ता र अर्को समावेशी, महिला वा खुला सदस्यसहित तीन सदस्यीय निर्वाचन मण्डल बनाइएको छ ।

चैत २५ गते जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकै पटक निर्वाचन गर्ने तयारी छ । त्यसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

केन्द्रबाट मतपत्र छापेर शनिबारदेखि प्रदेश तथा जिल्लामा पु¥याउने तयारी थालिएको संयोजक काफ्लेले जानकारी दिनुभयो । चैत २५ गतेभित्रै सम्पूर्ण निर्वाचन स्थलमा मतपत्र पुगिसक्ने उहाँले बताउनुभयो । मतदानका लागि कुनै आधिकारिक परिचयपत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ ।

सत्तापक्ष र प्रतिपक्षका बेग्लाबेग्लै प्यानल

महासङ्घको यसपटकको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (नेपाल पक्ष), मोहन वैद्यको क्रान्तिकारी माओवादी लगायतका दल निकट पत्रकार सङ्गठनले एउटै प्यानल बनाएका छन् । एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारीको छुट्टै प्यानल रहेको छ ।

केही स्वतन्त्र र बागी उम्मेदवारी पनि परेको छ । महासङ्घको केन्द्रीय अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । गजेन्द्रसिंह बुढाथोकी, विपुल पोख्रेल र निर्मला शर्माको उम्मेदवारी परेको छ ।

अध्यक्षका उम्मेदवारमध्ये बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन् भने शर्मा प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीकी हुन् । काँग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल अध्यक्षको मैदानमा छन् ।

वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, ध्रुव लम्साल र रमेश विष्टको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षतर्फ दाना सुवेदी र बाला अधिकारीको उम्मेदवारी परेको छ ।

यस्तै, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोको उम्मेदवारी परेको छ । महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुवोध गौतमले उम्मेदवारी दिएका छन् ।

खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईं, जन्मदेव जैसी, रामप्रसाद शर्मा (यम विरही) र रामकृष्ण ज्ञवालीको उम्मेदवारी परेको छ । महिला सचिवतर्फ निमा काफ्ले, सिर्जना अर्याल उम्मेदवार बनेका छन् ।

जनजाति सचिवमा नारायण सुन्दर किलम्बु, रामकुमार श्रेष्ठ र शाहीमान राईको उम्मेदवारी परेको छ । मधेसी सचिवमा दीपेन्द्र चौहान, देवकुमार यादव र स्वेता सिन्हा उठेका छन् । दलित सचिवमा मधु शाही र हेमकर्ण विकको उम्मेद्वारी परेको छ भने कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, कृष्ण गिरी र प्रकाश थापाको उम्मेदवारी परेको छ । यस्तै लेखा समिति संयोजकमा प्रेस सेन्टरका लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया