दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन सञ्चालनमा

Halesi Khabar

खोटाङ, २० चैत । दिक्तेल बहुमुखी क्याम्पस खोटाङले आफ्नै प्रशासनिक भवनबाट कार्यालय सञ्चालन शुरु गरेको छ । क्याम्पस परिसरमा निर्माण गरिएको आफ्नै दुई तले पक्की भवन शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएसँगै सोही भवनबाट क्याम्पसको दैनिक कामकाज सञ्चालनमा ल्याइएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु एक करोड २३ लाख लागतमा निर्माण गरिएको भवन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । भवन उद्घाटन अघि निर्माण कम्पनी मोहन एण्ड बेँसीगाउँ निर्माण सेवा–रुजन जेभीका प्रतिनिधि जोसेफ रिजालले नगरप्रमुख रिजाल र उपप्रमुख राईलाई भवनको हस्तान्तरण गर्नुभएको थियो ।

प्रशासनिक भवनको पहिलो तलामा सभाहल र शौचालय तथा माथिल्लो तलामा प्रशासनिक कक्ष सञ्चालनमा ल्याइएको छ । नगरपालिकाले रु एक करोड ९९ लाखको ठेक्का निकाले पनि निर्माण कम्पनीका ठेकेदारले रु ७६ लाख कममा ठेक्का पारेर क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण गरेको हो ।

वर्षदिनमा भवन निर्माण सम्पन्न गर्नेगरी २०७६ जेठ १४ गते सम्झौता गरिए पनि कोभिडका कारण केही पर धकेलिएको निर्माण कम्पनीका प्रतिनिधि रिजालले बताउनुभयो । नयाँ भवन निर्माण भएपछि क्याम्पसको प्रशासनिक कामकाज तथा कार्यसम्पादनमा सहज भएको क्याम्पस प्रमुख हीराकुमार राईले बताउनुभयो ।

निर्माण व्यवसायी रिजालले नगरपालिकालाई हस्तान्तरण गरेको भवनको चाँबी सोही कार्यक्रममा नगरप्रमुख रिजालले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजाल र क्याम्पस प्रमुख राईलाई हस्तान्तरण गर्नुभएको थियो । वि.सं. २०७६ जेठ ८ गते शिलान्यास गरिएको क्याम्पसको प्रशासनिक भवन तोकिएको मितिभन्दा करीब दश महिनापछिमात्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको हो ।

छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थीसमेत अध्ययन गर्न आउने दिक्तेल क्याम्पसमा अधिकांश पुरानै भवनमा पठन–पाठन भइरहेको छ । क्याम्पसका पूर्वविद्यार्थीसमेत रहनुभएका नगरप्रमुख रिजाल निर्वाचित भए लगत्तै क्याम्पसले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा भवन निर्माणका लागि क्याम्पसलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभएको थियो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्दै आएको छ । वि.सं. २०३७ सालमा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पस जिल्लाकै पूरानो र आङ्गिक क्याम्पस हो ।

यसैबीच, क्याम्पसको शैक्षिक विकास तथा विस्तारमा सहयोग पुग्ने गरी दुई तले प्रशासनिक भवन निर्माणमा नगरपालिकाले बजेट विनियोजन गरेकोमा क्याम्पसले नगरपालिकालाई प्रशंसापत्रसमेत प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया