उद्योग वाणिज्य सङ्घ खोटाङको सचिवालय भवन निर्माण शुरु

Halesi Khabar

खोटाङ, १७ चैत । उद्योग वाणिज्य सङ्घ खोटाङको सचिवालय भवन निर्माण गरिने भएको छ । वाणिज्य सङ्घले खरिद गरेको दिक्तेल बजारस्थित जिल्ला अदालतको कार्यालय नजिकैको दुई रोपनी जग्गामा रु तीन करोड ५० लाख लागतमा साँढे तीन तले सचिवालय भवन निर्माण गरिने भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा भवन निर्माणका लागि बजेट समेटिएपछि भवन बनाउन शुरु भएको वाणिज्य सङ्घका अध्यक्ष उपिन राईले बताउनुभयो । वाणिज्य सङ्घको भवन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्ते शिलान्यास गर्नुभयो ।

चालू आर्थिक वर्षमा पहिलो तला सम्पन्न गरेर कार्यालय सारिने वाणिज्य सङ्घका अध्यक्ष राईले बताउनुभयो । भवन निर्माण शुरु हुने भएपछि जिल्लाका कतिपय व्यवसायीहरुले व्यक्तिगत रुपमै सहयोग गर्ने बताएका छन् ।

चालीस वर्षअघि स्थापना भएको उद्योग वाणिज्य सङ्घ हाल दिक्तेलको त्रिवेणीचोकस्थित व्यक्तिको घर भाडामा लिएर दैनिक कामकाज सञ्चालन गरिएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख रिजालले नगरपालिकाको तर्फबाट रु ३० लाख बजेट भवन निर्माणमा सहयोग गर्ने बताउनुभएको छ ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख रिजाल, उपप्रमुख राई, दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य, वाणिज्य सङ्घका पूर्व अध्यक्ष राजेन्द्र लयालु, सङ्घका पदाधिकारी, व्यवासायी लगायतको उपस्थिति थियो । वाणिज्य सङ्घमा एक हजार ७०० साधारण सदस्य रहेको सङ्घका अध्यक्ष राईले बताउनुभयो ।

जिल्लाका दशवटै स्थानीय तह वाणिज्य सङ्घको शाखा गठन गर्ने काम भइरहेको महासचिव मनोजकुमार बजिमयले बताउनुभएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा व्यापार व्यवसायसँगै विकास निर्माणको काममा समेत वाणिज्य सङ्घको भूमिका महत्वपूर्ण रहेको छ ।

तपाईको प्रतिक्रिया