सुरक्षित गन्तव्यस्थल बनाउन हलेसीको थप १३ स्थानमा सिसि क्यामेरा जडान

Halesi Khabar

खोटाङ, १६ चैत । दर्शनार्थी तथा झक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले हलेसी गुफा, हलेसी मन्दिर परिषर तथा हलेसीबजार आसपासका १३ स्थानमा सिसि क्यामेरा जडान गरिएको हो ।

हलेसी मन्दिरको शान्ति सुरक्षाका लागि दुई वर्षअघि जडान गरिएको सात वटा सिसि क्यामेरा प्रभावकारी देखिएपछि हलेसीमा पुनः थप सिसि क्यामेरा जडान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख ईवन राईले बताउनुभयो । गुफाभित्रको महादेवथान, पर्वतीथान, बसाहाथान, मन्दिर प्रवेश द्धार, सूचना केन्द्र, रिठ्ठाबोटे, साल्पा बैङ्क चोक, हलेसी भिलेज होटल क्षेत्र, ट्राफिक चोक, ग्यारेज, डाँडाबजार लगायतका स्थानमा सिसि क्यामेरा जडान गरिएको छ ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै हलेसी मन्दिर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने लक्ष्यका साथ रु १५ लाख खर्चमा सिसि क्यामेरा जडान गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो । “हलेसी मन्दिरको संवेदनशील क्षेत्रमा पहिल्यै सिसि क्यामेरा राखेका थियौँ । जसको सहयोगमा हामीले दुई लाख पैसा र एक तोला सुन भेटेर सम्वन्धित व्यक्तिलाई फिर्ता दिन सफल भयौँ । भुलबस भिडभाडमा हराएका ज्येष्ठ नागरिक र बालबच्चा खोजेर आफन्तको जिम्मा लगाउन पनि सिसि क्यामेरा सहयोगी बनेको छ”, नगरप्रमुख राईले भन्नुभयो, “हलेसीमा चढाइएका भेटीको पारदर्शीता कायम गर्न र शान्ति सुरक्षा कायम गर्न सिसि क्यामेरा फलदायी भएको हाम्रो अनुभव छ ।”

नगरपालिका, हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिको संयुक्त लगानीमा हलेसीमा सिसि क्यामेरा जडान गरिएको जनाइएको छ । हलेसी आउने पर्यटक तथा दर्शनार्थीले चढाएका भेटी र गहनाको निगरानीमा समेत सिसि क्यामेरा उपयोगी बनेको विकास समितिका अध्यक्ष टंक राईले बताउनुभयो ।

धार्मिक रुपमा मात्रै नभएर प्राकृतिक रुपलेसमेत विश्वप्रसिद्ध हलेसीमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै तीनवटा होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्धारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा तीनवटा होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

हलेसीस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा ऐसेलुखर्कमा किराँत सँस्कारमा आधारित होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ । “तीनवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरेर होमस्टे सञ्चालन सम्बन्धी तालीम दिनुका साथै आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ”, विकास समितिका अध्यक्ष राईले भन्नुभयो, “होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीय बासिन्दालाई आत्मनिर्भरताको बाटोमा डोहो¥याउने अपेक्षा गरिएको छ ।”
हलेसी मन्दिरबाट ककनी मन्दिर जाने बाटोमा पर्ने २२ घर क्षेत्री÷बाहुन समुदायको बस्ती रहेको माथिल्लो माल्खुमा हिन्दु सँस्कार अनुसार बालन, सँगीनी, चुट्का लगायतका नाच सिक्ने÷सिकाउने अभ्याससमेत भइरहेको छ । नगरपालिका र वडा कार्यालयसँग पनि सहकार्य गरेर सञ्चालन गर्नेगरी शुरु गरिएको माथिल्लो माल्खुको होमस्टेको नाम ‘हलेसी सामुदायिक होमस्टे माल्खु’ राखिएको छ ।
दर्शनार्थी एवम् पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुन सकेको थिएन । हिन्दु तथा किराँत सँस्कारमा आधारित होमस्टेमा हलेसी बजारस्थित होटल तथा लजमा बस्ने पाहुनालाई समेत साँस्कृतिक कार्यक्रम हेर्न टिकट लिएर प्रवेश गर्न दिने व्यवस्था गरिने जनाइएको छ ।
किराँत सँस्कारमा आधारित होमस्टेमा साकेला नाच हेर्ने तथा नाच्ने र लोकदोहोरी गाउने व्यवस्था मिलाइने सञ्चालक समितिले जनाएको छ । किराँत समुदायको बाहुल्यता रहेको हलेसीमा विभिन्न जातजातिका समुदाय आउने भएकाले पनि हिन्दु र किराँत सँस्कारमा आधारित छुट्टाछुट्टै होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।
हलेसी आउने पर्यटक तथा दर्शनार्थीका लागि घुमफिर गर्ने ठाउँ नभएकाले पनि होमस्टेको अवधारण लिइएको विकास समितिका अध्यक्ष राईले बताउनुभयो । “हलेसीमा अहिलेसम्म बाहिरबाट आउने पर्यटकका लागि मनोरञ्जन गर्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “अहिले अधिकांश मानिसहरु खुला रुपमा मनोरञ्जन गर्न चाहन्छन् । मनोरञ्जन गर्न चाहने व्यक्ति तथा पर्यटकका लागि केहि हलेसी क्षेत्रमै अडिने व्यवस्था मिलाउन होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।”
हलेसीमा नेपालका सबै जिल्लाका साथै अन्य देशहरु भारत, चिन, भुटान, बंगलादेश, जापान, अमेरिका, थाईल्याण्ड लगायतबाट भक्तजन एवम् दर्शनार्थी आउने गरेका छन् । धार्मिक रुपले मात्र नभई प्राकृतिक रुपमै विश्वप्रसिद्ध हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ ।
यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाले व्यवसायिकरुपमा सुन्तला खेती गर्दै आएका किसानलाई कृषि सामग्री प्रदान गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका सुन्तला किसानलाई रु दश लाख बराबरको हिल ट्याङ्क, पाईप, कटिङ गर्ने र गोडमेल गर्ने उपकरण प्रदान गरेको हो ।

सुन्तला पकेट क्षेत्र घोषणा गरिएको गैरीगुठका किसानको प्रोत्साहनका लागि आवश्यक सामग्री प्रदान गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । सुक्खाग्रस्त क्षेत्र मानिने हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान गैरीगुठका ४७ घर किसानलाई पानी सञ्चित गर्दै सुन्तला खेतीमा उपयोग गर्नका लागि हिल ट्याङ्की, पाईप लगायतका कृषि सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

एघार वडा रहेको नगरपालिकाको गैरीगुठमा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । गैरीगुठका किसानले विगतदेखि नै सुन्तला खेतीबाट राम्रो आयआर्जन गरिरहेको पाइएपछि कृषि सामग्री प्रदान गरिएको नगरप्रमुख राईले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया