परनिर्भरताले उजाडिएको गाउँ

Halesi Khabar

–भीम राई
अहिले गाउँघर प्राय जसो रित्तोरित्तो हुँदै गइरहेको छ । पहिले सुन्दर लाग्ने गाउँहरुमा अहिले मान्छे भन्दा धेरै बस्ने घर र ग्वालीहरु भेटिन थालेका छन् । बस्तीहरु उजाडिएका छन् । खण्डहर जस्तै भइसकेका खेतीयोग्य जमिन अहिले तितेपाती र वनमाराको घारीमा परिणत हुँदै जानुले गाउँमा कति मानिसहरु बस्दै आएका होलान् भन्ने कुराको पुष्टिमात्र गर्दैन कुन उमेर समूहका मानिसहरुको बढी बसोबास रहेको छ भन्ने जवाफ समेत दिन्छ ।

आजभोलि गाउँमा भाले बास्दैन । गाईवस्तु कराउँदैनन् । सुनसान भएपछि सबै ठाउँमा बिरक्त लाग्दो र नरमाइलो मात्र छन् । विकास नामको सडकले पुराना ठाँटी चौताराको दोहोलो काढेको छ । पुराना मुलबाटो र गोरेटाको नामो निशाना रहेको भेटिन्न । आफ्नो आफन्तको सम्झनामा रोपिएको बरपिपल र चिनो चौतारी झार जङ्गलले पुरेर केही देख्न पाइन्न । कति ठाउँमा त मान्छेहरुले लडाएर दाउरा नै बनाइसकेका छन् । यी सब विकासकै देनका रुपमा लिन बाहेक हाम्रो दिमागले केही सोच्नै सकेन र सकेको छैन ।

गाउँ सुनसान छ । सुनासान गाउँमा अब प्राय भेटिने भनेको बुढा बाजेबजुहरुको अलवा केही नानीका आमाहरु र केही केटाकेटीहरु बाहेक युवावस्थाका मानिस पाउन मुस्किल छ । उनीहरुपनि गाउँमा बस्न चाहेर बसेका भने पक्कै होइन । उनीहरुसँग एउटै समस्या छ जाउँ कहाँ जाउँ जसोतसो बस्नै प¥यो भन्ने मनशायले बसेका हुन् । यस्तै केही सुकिला मुकिला भएर बस्ने बाध्य भएर सरकारी कर्मचारी हुन् । ति आफू बाहेक सबैलाई सुविधा सम्पन्न ठाउँमा छाडेर गाउँमा आएका हुन्छन् । समग्रमा हेर्दा भयावह छ । अहिले ग्रामिण क्षेत्रको अवस्था ।

विकास पुगेपछि गाउँमा सुविधा पुग्छ र सबै गाउँमै रमाउला भन्ने वृद्धवृद्धाहरुको रहर रहरसँगै शहर पस्न थालेको छ । कहि कतै उनीहरुको बालबच्चा फर्केर आउलान भन्ने अपेक्षाको ठाउँमा भर्खरै बढ्दै गरेका नाति नातिनाहरु समेत त्यहि बाटो भएर शहर छिर्न थालेपछि विकासप्रति उनको मन कस्तो होला । यी सबै ग्रामिण भेगमा भएका आलो अनुहारहरु हुन् ।

किन यी सब कुरा भइरहेका छन् । यसको एउटै उत्तर हो सुविधाको खोजी । सुविधाको खोजी गर्दै जाने तर, सुविधालाई गाउँमै ल्याउने कोशिसहरु पर्याप्त भएका छ्रैन । केही त भएका छन् । गाउँमा विकासले ल्याइदिएको सडकसँगै तराईका हरेक उत्पादन पहाड भित्रिएका छन् । पहाडमा उत्पादन भएका केही पनि कृषि उपजहरु तराई पठाउने अहिलेसम्म हाम्रो सुरसार छैन ।

यहाँको खेत बाँझो छ । बारी बाँझो छ । पाखाभरी बनमारा र तितेपातीको बोटहरु मान्छे भन्दा अग्लाअग्ला भएर उभिएका छन् । यसलाई हेरेर हामीले भने खुइया गर्ने बाहेक केही काम गरेकै छै्रनौँ । हाम्रा विकासे अड्डाहरुले विकासलाई सडकमात्र मानेकाले समस्या आएको छ । सडकसँगै आएको गाडी र गाडीसँगै आएको उत्पादनले हामीलाई दिनदिनै परनिर्भर बन्न सिकाउँदैछ । अल्छेपनको विकास गरिरहेको छ ।

एक त हामीसँग उत्पादनका लागि समय दिन सक्ने जनशक्ति वैदेशिक रोजगारको शिलशिलामा हानिएको छ । दोस्रो अध्ययनको नाममा शहर केन्द्रित छ । अनि गाउँमा भएका जनशक्तिपनि एक काँधे परेपछि खेतीयोग्य जमिनहरु बाँझोबारीमा परिर्वतन भएका छन् ।

अर्को पाटाबाट हेर्दा केही समय अगाडि दिक्तेल बजारमा अर्थविज्ञ हरि रोक्का, नारायण ढकाल र टंक कार्कीहरु आउँदा खोटाङ जिल्लाका अग्रज पत्रकार कृष्ण आचार्य ज्यू ले एउटा तथ्याङ्क गज्जबले प्रस्तुत गर्नु भएको थियो । एक हलको खेतमा धान रोप्दा लाग्ने खर्चको हिसाब प्रस्तुत गदै उहाँले किसान किन उत्पादनमा लाग्दैन भन्ने विषयमा प्रष्ट पार्नुभएको थियो । सुन्दा गज्जबको तथ्याङ्क आयो ।

पाँच मुरी धान उत्पादन गर्न लाग्ने समय खर्च, सबै जोडदा करीब १५ हजार । तर, पैसा हुने एकजना व्यक्तिले १० हजारमा पाँच मुरी धान आँखै अगाडि किनिदिन्छ । अनि कसरी लाग्छन् उत्पादनमा किसान ? अब चिन्ता यतातिर हो ।

हाम्रो मुल विषय परनिर्भरता हो । परनिर्भरताले हामीलाई अल्छेमात्र होइन अरु पनि थुप्रै कुराहरु गर्न बाध्य बनाइ रहेका छन् । बाँझो खेतमा पाती फुलाएर शहरमा नानी डुलाउने अवस्थाको सिर्जना हुनुपनि परनिर्भरताको नमूना हो । परनिर्भरता किन भयो र कसरी भन्दा फेरिपनि ठोक्किने भनेको देशको राजनीतिक व्यवस्था र शासन गर्ने निकायमा पदासिन व्यक्तित्वहरुको सोचकै कारण हो ।

हामीले बाँझो खेत किन राख्छौँ ? हामीलाई कसैले प्रश्न सोधेन । न प्रधानमन्त्रीले सोधे न माननीयले, न नगरप्रमुखले सोधे न गाउँपालिका प्रमुखाले । कसैले पनि हाम्रो वरिपरिको खेतबारी बाँझो भएको बारेमा सोधेनन् ।

खेती गरे हुने हो भन्ने सुभेक्छा पालेर राखे पनि कस्तो किसिमको खेति गर्ने प्रवृधि नसिकाएपछि समस्या आएको हो । आफूले गरेको उत्पादनले खान पुग्दैन । खान नपुग्ने खेती म किन गर्ने ? मलाई वैकल्पिक व्यवसाय गर्न सुझाउँदा वैकल्पिक खेती प्रणाली समयमा पाउनु पर्ने मल बीउ र अनुदान नपाएपछि गर्ने काम अरुकै आशामा हो ।

जाने विदेश नै हो । विदेश नगएपनि मैले खेतीपाती गर्नु भन्दा गर्न सजिलो भनेको कुल्ली काम नै हो ज्यामि काम नै हो । यसका लागि मैल आत्मनिर्भरता खोजेर किन ऋण परौँ । यी यस्ता थुप्रै समस्याहरुको बीचमा परनिर्भता बढी रहेको छ ।

आफूले उत्पादन गरेर खाने भनेको अहिल आफ्नै शरीरले उत्पादन गरेको मुखमा निस्कने ¥याल मात्र हो । अरु सबै अरुले उत्पादन गरेकै कुरा उपभोग गर्न हामी बाध्य छाँैँ यसलाई समयमै सोच्न जरुरी छ । आत्म निर्भर स्वाबलम्बी बन्न कोशिस गर्ने हो भने सरकारले फरक किसिमको नीति अख्तियार गर्ने पर्छ । धन्यवाद !

तपाईको प्रतिक्रिया