दिक्तेलमा भोलिदेखि अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता

Halesi Khabar

खोटाङ, ३ चैत । खोटाङको दिक्तेल बजारमा भोलि (बुधबार)देखि सञ्चालन हुने अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको दोस्रो सँस्करणको खेल तालिका सार्वजनिक भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सञ्चालन हुने उद्घाटन खेल आयोजक खोटाङ फुटबल एकेडेमी र योङ ब्वाइज यूनाइटेड फुटबल क्लब दिक्तेलबीच हुने भएको छ । जिल्लाका विभिन्न १३ क्लबले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले गर्ने कार्यक्रम तय भएको छ ।

चन्दा उठाएर आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंको समेत उपस्थिति रहने जनाइएको छ । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहले नगद रु ८८ हजार ८८८, दोस्रो स्थान प्राप्त गर्नेले रु ४४ हजार ४४४ र दुई सेमिफाइनलिस्टले प्रति समूह रु २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने आयोजक केएफएका अध्यक्ष नुरकाजी सैँजूले बताउनुभयो

प्रतियोगिताका उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र प्रशिक्षकलाई जनही रु पाँच हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने जनाइएको छ । सर्वोत्कृष्ट खेलाडीलाई रु सात हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्तर क्लब पुरुष फुटबल प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको तथा दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिक रुपमा नवीकरण गरेको समूहलाई मात्र सहभागी गराइएको जनाइएको छ । प्रतियोगिता उद्घाटनका क्रममा जिल्लामा क्रियाशील पत्रकार र केएफए भेट्रानबीचमा मैत्रीपूर्ण खेल हुने छ ।

प्रतियोगिता उद्घाटनको अवसरमा खोटाङ फुटबल एकेडेमीको आफ्नै गीत सार्वजनिक गर्ने तयारी गरिएको छ । सोही अवसरमा फुटसल सेन्टरलाई निःशुल्क जग्गा दानको कार्यक्रम पनि तय गरिएको अध्यक्ष सैँजूले जानकारी दिनुभयो ।

‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारासहित वि.सं. २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा पहिलो सँस्करण आयोजना गरेको थियो । यसअघि दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आयोजना गरिएको पहिलो सँस्करणमा आयोजक नै प्रथम भएको थियो ।

खेल क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना गरिएको एकेडेमीले जिल्लामा फुटबल खेल सम्बन्धी निःशुल्क प्रशिक्षणसमेत सञ्चालन गरिरहेको छ । एकेडेमीले सञ्चालन गरेको प्रशिक्षण लिएका खेलाडीहरु अहिले राष्ट्रिय खेलाडीसमेत बनिसकेका छन् ।

तपाईको प्रतिक्रिया