दिक्तेलमा खुल्यो आधुनिक डान्स सेन्टर

Halesi Khabar

हलेसी खबर
खोटाङ, ३ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका विबोईङ डान्सर जसधन राईले दिक्तेलबजारमा पावर मुभ डान्स स्टुडियो शुरु गरेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा उनले डान्स सेन्टर खोलेका हुन् ।

नगरपालिकाको पुरानो कार्यालय रहेको घरमा स्थापना गरिएको डान्स सेन्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मल राईले शनिबार उद्घाटन गरे । हिपहप, बिबोईङ, पपिङ, केपप, जुम्बा, नेपाली कल्चरल, सोलो, हाउस, क्रबलगायतका डान्स सिकाउने लक्ष्यका साथ डान्स स्टुडियो खोलेको पावर मुभ डान्स स्टुडियो सञ्चालक जसधन राईले बताए ।

डान्स सेन्टरमा ६ महिनाको आधारभुत तथा सोभन्दा बढि अवधिको एडभान्स तालिम सञ्चालन गरिने छ । हाल दैनिक बिहान ५ देखि ६ बजेसम्म, ६ बजेदेखि ७ बजेसम्म तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म डान्स कक्षा सञ्चालन भइरहेको छ । हाल डान्स सिक्ने विद्यार्थीको भर्ना भइरहेको छ । आर्थिकरुपमा विपन्न तर डान्स सिक्न इच्छुक विद्यार्थीलाई निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाइएको जनाइएको छ ।
जिल्लामा माग अनुसारको डान्स सिकाउने लक्ष्यका साथ डान्स सेन्टर स्थापना गरेको नृत्य प्रशिक्षक रहेका राईले बताए ।

कार्यक्रम शुभकुमार राईको सभापतित्वमा सम्पन्न भएको थियो । जसधन नेपाल डान्स एकेडेमी, ज्योती फिल्म प्रोडक्सन लगायतबाट पुरस्कृत डान्सर हुन् ।

तपाईको प्रतिक्रिया