क्यान्सरपीडित सविताद्धारा उपचारमा सहयोग गर्न अपिल

Halesi Khabar

खोटाङ, २२ फागुन । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारकी २३ वर्षीया सविता थापाले क्यान्सरको उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । शिक्षण अस्पताल काठमाडौँले निधारमा भएको क्यान्सरको उपचारका लागि कम्तिमा रु दश लाख खर्च लाग्ने बताएपछि सविताले सहयोगको याचना गर्नुभएको हो ।

करीब सात महिनाअघि क्यान्सर पहिचान भएको पीडित सविताको हाल शिक्षण अस्पताल काठमाडौँमै उपचार भइरहेको छ । क्यान्सरको निदानका लागि सवितालाई किमो दिने तयारी भइरहेको पीडित सविताका आफन्त सन्तोष राईले बताउनुभयो ।

गत भदौमा निधारभन्दा केहीमाथि निस्किएको फोका बढ्दै गएपछि परीक्षणकाक्रममा सवितालाई क्यान्सर भएको पुष्टि भएको थियो । निधारमाथि निस्किएको मासुको फोका क्रमशः बढ्न थालेपछि उनी गत मङ्सिरमा १४ हजार ऋण काढेर उपचारका लागि काठमाडौँ पुग्नुभएको थियो ।

काठमाडौँमै रहनुभएकी दिदीसँग अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराउन पुग्नुभएकी सवितालाई शल्यक्रिया गर्न रु तीन लाख लाख खर्च लाग्ने बताएपछि खर्च जम्मा गर्न नसक्ने भन्दै कोठा फर्किनुभएको थियो । तर, आफन्तको सल्लाहमा पुनः ग्रिनसिटिमा गएर समस्या परीक्षण गराउनुभएको थियो ।

क्यान्सर भएको पुष्टि भएपछि सविता गत फागुन ११ गतेदेखि शिक्षण अस्पतालमै बसिरहनुभएको छ । आर्थिक अवस्था कमजोर भएका सविताको उपचारकाक्रममा हालसम्म रु डेढ लाखभन्दा बढी खर्च भइसकेको छ ।

घरमा छ वर्षकी छोरी र चार वर्षका छोरालाई छाडेर उपचारमा काठमाडौँ जानुभएकी सवितालाई क्यान्सरको जति चिन्ता छ, उत्तिकै चिन्ता छ उपचार खर्च र बालबच्चाको पनि । उपचारमा संलग्न डाक्टरले १०० जनामा एक÷दुई जनालाई देखिने क्यान्सर देखिएको बताएको सविताका आफन्तले बताएका छन् ।

चिकित्सकले आफूमा देखिएको क्यान्सर समयमा उपचार भएन भने शरीरका विभिन्न भागमा पनि फैलिन सक्ने बताएको जानकारी दिनुभयो । “ऋण खोजेर काठमाडौँ पुगेको, अहिलेसम्म रु डेढ लाख ऋण लागिसक्यो”, उहाँले भन्नुभयो, “उपचार गर्दा रु दश लाख खर्च लाग्छ भनेको छ । अब मेरो जीवन या मरण शुभेच्छुकको साथ र सहयोगमा निर्भर छ । आफूले मरिन्थ्यो ! छोराछोरीको बिजोग हुनेभयो ।”

क्यान्सर पीडित सविताको उपचारका लागि रकम जुटाउन आफन्तहरुले सहयोग अभियान थालेका छन् । क्यान्सरको उपचारका क्रममा लाग्ने खर्च आफै जुटाउन सक्ने अवस्था नभएकाले आफन्तले ‘सविता थापा उपचार सहयोग अभियान’ थालेका हुन् ।

 

तपाईको प्रतिक्रिया