दिक्तेलमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण तथा सडक ढलान गर्ने तयारी

Halesi Khabar

खोटाङ, २२ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गर्ने तयारी गरेको छ । पन्ध्र वडा रहेको यस नगरपालिकाले मासिक करीब रु छ लाखभन्दा बढी राजस्व सङ्कलन गर्ने स्रोतको रुपमा विकास गर्न सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको तयारी थालेको हो ।

तल्लो तलामा २३ कोठा र माथिल्लो तलामा २३ कोठा हुने सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँग सम्झौता गरेर निर्माणको प्रक्रिया थालिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “रु तीन करोड ९६ लाखमा पूरा गर्नेगरी सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण प्रकृया थालिएको छ” उहाँले भन्नुभयो, “मन्त्रालयको रु दुई करोड ५७ लाख र नगरपालिकाको रु एक करोड ३९ लाख खर्च हुने सम्झौता गरिएको गरिएको छ ।”

वि.सं. २०७९ फागुन मसान्तसम्ममा सम्पन्न हुने उक्त सपिङ कम्प्लेक्सको तल्लो तलाको सटरमा कोसेली घर, नगरपालिकाको तरकारी पसल तथा कृषि उपज सङ्कलन केन्द्र लगायतका स्टल राखेर अन्य कोठा भाडामा दिने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ । माथिल्लो तलाका सटरमा मःमः पसल तथा कफीसप, रेष्टुरेन्ट जस्ता २३ वटै स्टल सञ्चालन गर्ने तयारी गरिएको छ ।

सपिङ कम्प्लेक्सको बीच भागमा भने केटाकेटी खेल्ने आकर्षक पार्क निर्माण गर्ने डिजाईन गरिएको नगरप्रमुख रिजालले जानकारी दिनुभएको छ । सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणका लागि हालको प्रहरी बुथ र बालविकास केन्द्रको भवन लगायतका भौतिक संरचना हटाउनुपर्ने देखिएको छ ।

नगरपालिका र पर्यटन मन्त्रालयबीचमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका बमोजिम गर्ने, पालिकाले खरिद प्रकृया सम्पन्न गरी ठेक्का सम्झौता भए पश्चात सम्झौता रकममा लागत साझेदारी गर्ने, विद्युतीय खरिद प्रकृयामार्फत कार्यक्रम गर्ने, ठेक्का सम्झौता भएपछि सम्झौता रकमको मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत रकम प्रथम किस्ता बापत सम्बन्धित पालिकामा पठाउने, थप रकम कार्यक्रम कार्यान्वयनको प्रगतिका आधारमा निकासा गर्नेगरी दुइ पक्षीय सम्झौता भएको छ । मन्त्रालयको गत भदौ २ गतेको सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरको माघ २९ गतेको निर्णय अनुसार साझेदारी आयोजनाका रुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनौट भएको हो ।

यसैबीच, दिक्तेलबजारको सडक ढलानका लागि यस वर्ष थप रु पाँच करोड बजेट प्राप्त भएको छ । पहिलो चरणमा दिक्तेलबजारको किराँतचोकदेखि सिँचाइ गेट, त्रिवेणीचोकदेखि मालपोत कार्यालय र पुरानो बैङ्कचोकदेखि झिसेपु मन्दिर जाने सडक खण्ड ढलान भइसकेको अवस्थामा बाँकी खण्डको आरसिसि ढलान गर्नका लागि शहरी विकास मन्त्रालयबाट उक्त बराबरको थप बजेट प्राप्त भएको हो ।

दिक्तेलबजारको बाँकी खण्ड ढलानका लागि नेपाल सरकार अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले शहरी विकास मन्त्रालयलाई रु पाँच करोडसम्मको सिमाभित्र रहेर निर्माण कार्य अगाडि बढाउन सहमती दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयले शहरी विकास मन्त्रालयको चालु आर्थिक वर्ष विनियोजित बजेटमध्ये खर्च हुन नसक्ने रकमबाट बजारका सडक ढलान गर्ने बजेट व्यवस्थापन गर्न भनेको छ ।

मन्त्रालयबाट प्राप्त बजेटले चालु आर्थिक वर्षभित्रै दिक्तेलको सिँचाइ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । चालु आर्थिक वर्षको अन्त्यमा प्राप्त भएको बजेटले यही आर्थिक वर्षभित्र ढलान हुनेमा भने आशंका उब्जिएको छ ।

पहिलो चरणमा आर्थिक वर्ष २०७६÷०७७ मा दिक्तेलबजारमा गरिएका ढलानको गुणस्तरका विषयमा स्थानीयले असन्तुष्टी जनाएका थिए । अव्यवस्थित बजारीकरणका कारण दिक्तेलबजारको सडक ढलानका क्रममा कतिपय घर तथा पसलको ढोका छेकिन पुगेको छ भने कतिपय घर तथा पसलको ढोका सडकभन्दा माथि हुन पुगेको छ ।

बजारका घरहरुलाई सडकको सतहसँग मिल्नेगरी पुनः निर्माण गरे मात्र बजार थप व्यवस्थित बन्दै जाने देखिएको स्थानीय बासिन्दाले बताएका छन् । दिक्तेल–खानीडाँडा सडक खण्डमा पर्ने टेलिकमदेखि हाटडाँडासम्मको खण्ड भने कालोपत्रको काम भइरहेको दिक्तेल–खानीडाँडा सडकमा पर्ने भएकाले स्वतः कालोपत्र हुने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया