मझुवागढी रणजितमान कप फुटबल प्रतियाेगितामा रतन्छाकाे विजयी शुरुवात

Halesi Khabar

खोटाङ, १० फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सोमबारदेखि शुरु भएको सर्वाधिक पुरस्कार राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा साकेला गाउँपालिका–२ रतन्छाले आफ्नो विजयी यात्रा शुरुवात गरेको छ । लफ्याङस्थित छिवामा निर्माणाधीन मझुवागढी रणजितमान राई खेलमैदानमा सोमबार साँझ भएको पहिलो खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई शुन्यका बिरुद्ध एक गोल गर्दै रतन्छाले आफ्नो विजयी यात्रा शुरु गरेको हो ।

खेल शुरु भएको ११ औँ मिनेटमा रतन्छाका खेलाडी विनोज राईले गर्नुभएको गोल नै निर्णायक भएको आयोजक समितिका संयोजक एवम् नमूना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताउनुभयो । प्रतियोगितामा रतन्छाकै विक्रम लिम्बू म्यान अफ दि म्याच घोषित हुनुभएको छ ।

‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नाराका साथ वडा कार्यालय र स्थानीय नमूना स्पोर्टस क्लबको आयोजनामा शुरु भएको खेलको दोस्रो दिन भोलि ११ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला र वडा नं. ४ खाल्लेबीच पहिलो खेल हुने जनाइएको छ । दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र वडा नं.–३ बाम्राङ तथा तेस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र वडा नं.–७ दोर्पाचिउरीडाँडाबीच हुने संयोजक राईले जानकारी दिनुभयो ।

‘अन्तर वडास्तरीय पुरुष प्रथम च्यालेञ्ज कप’ फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका २१ समूहका खेलाडीले प्रतिष्पर्धा गर्दै छन् । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहले नगद रु एक लाख ५५ हजार, दोस्रो स्थान प्राप्त गर्नेले रु एक लाख एक हजार र सेमिफाइनलिस्ट दुई समूहले रु ३१÷३१ हजार नगद पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार ५००, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित समूहलाई नगद रु पाँच÷पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । जिल्लाकै खेलाडीलाई पहिलो प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको फुटबल प्रतियोगितामा बढीमा तीन जनामात्र बाह्य जिल्लाका खेलाडीलाई सहभागी गराइएको छ ।

 

प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको कार्यक्रममा चर्चित गायक राजेशपायल राई, गायक रेवत राई, विश्व लिम्बू लगायतका कलाकारको साँगीतिक प्रस्तुतिसमेत भइरहेको छ । ‘राई ईज किङ’को उपाधि पाउनुभएका गायक राजेशपायल आउनुभएपछि दर्शक तथा स्रोताको बाक्लो भीड लागेको छ ।

स्थानीय बासिन्दाको पहलमा निर्माण गरिएको खेलमैदानमा शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशिको फुटबल प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष निर्मल राईले बताउनुभयो । वडा कार्यालयको रु १२ लाख ७० हजारको खर्चमा निर्माण गरिएको खेलमैदान १२० मिटर लम्बाई र ८० मिटर चौडाईको छ ।

निर्माणाधीन अवस्थामै रहेको खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कामसमेत सम्पन्न गरिएको छ । वडा कार्यालयको पहलमा स्थानीय बासिन्दाले १८ रोपनी जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया