भान्जा भनेर चिनिने बेवारिसे व्यक्तिको ट्याक्टरको ठक्करबाट मृत्यु

Halesi Khabar

खोटाङ, १ फागुन । ट्याक्टरको ठक्करबाट खोटाङको दिक्तेल बजारमा बेवारिसे अवस्थामा डुलेर हिँडिरहने एक जना बेवारिसे व्यक्तिको मृत्यु भएको छ । भान्जा भनेर चिनिने दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–६ नेर्पास्थित मुछाका अन्दाजी ३५ वर्षीय गोरखनाथ गेलालको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।

दिक्तेल बजारस्थित हाटडाँडाबाट रत्नपार्कतर्फ जाँदै गरेको ना ५ त ६६९१ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेका गेलाललाई जिल्ला प्रहरी कार्यालय नजिकै ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । गेलालको मृत्यु भएपछि ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो ।

मृतक गेलालको शव परीक्षण गर्न जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीले जनाएको छ । बिगत दश वर्षदेखि दिनरात दिक्तेल बजारका विभिन्न ठाउँमा गीत गाउँदै मागेर हिँड्ने गेलाल बाटो तथा सडकमै आफ्नो जीवन बिताउँदै आएका थिए ।

दिक्तेल बजारमा नयाँ मान्छे देख्ने बित्तिकै “प्लिज मामा टेन रुपिज” भनेर पैसा माग्दै जीवन निर्वाह गर्ने गेलाल मानसिक सन्तुलन गुमाएर घरमा नबसेको उनका आफन्त भोजकुमार गेलालले बताउनुभएको छ । ट्याक्टर दुर्घटनामा बेवारिसे अवस्थामा डुली हिँड्ने गेलालको मृत्यु भएपछि आफन्तलाई खबर गरेर दिक्तेल झिकाइएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया