वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ ः उपप्रधानमन्त्री पोखरेल

Halesi Khabar

पूर्णप्रसाद न्यौपाने

ओखलढुङ्गा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्ध भत्ता मासिक पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।ओखलढुंगाकोे चिशंखुगढीमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले सरकारले अघिल्लो निर्वाचनमा बाचा गरे अनुसार वृद्ध भत्ता मासिक पाँच हजार दिने बताउनुभएको हो ।

गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढवा दिने तयारी गरिए पनि पार्टी भित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उहाँले आगामी दिनमा सरकारले लक्ष्य अनुसार काम गर्ने बताउनुभयो ।

‘केपी ओली नेतृत्वको सरकार वृद्ध भत्ता मासिक ५ हजार दिन चाहन्थ्यो, देशभर पूर्वाधार विकासका ठुला आयोजनाहरू सञ्चालन गर्न चाहन्थ्यो । तर प्रचण्ड–नेपाल र खनालहरूले निरन्तर अवरोध गरेका कारण सरकारले लक्ष्य अनुसार काम गर्न सकेन । तर पनि विगतकोभन्दा निकै उत्कृष्ट काम सरकारले गरिरहेको छ’ उहाँले भन्नुभयो, ‘जनताको हितमा, मुलुकको हितमा काम गर्न नदिएपछि हामीले विकल्प अघि सारेर जनतामाझ जाने निर्णय गरेका छौँ । अहिले पनि सरकार लक्ष्य अनुसार काम गरिरहेको छ । आगामी चुनाव अघि नै धेरै कामहरू हुनेछन् ।’

उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानुपरेको बताउनुभयो । विकास र समृद्धिका अभियानहरू निरन्तर अघि बढ्ने उहाँको भनाई थियो ।

राष्ट्रिय राजनीतिका विषयमा नेता पोखरेलले तत्काल नेकपा विभाजित नहुने बताउनुभयो । जनता र कार्यकर्ता एकताको पक्षमा रहेकाले प्रचण्ड–नेपाल समूहले चाहेर पनि पार्टी विभाजित नहुने बताउनु भएको हो ।

उपप्रधानमन्त्री पोखरेलले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवार सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नुभएकाले अहिले पनि ओली नेतृत्वको नेकपाले नै आधिकारिक हुने । सूर्य चिन्ह पनि ओली नेतृत्वको नेकपाकै हुने उहाँले जिकिर गर्नुभयो ।

‘तपाईँहरू ढुक्क हुनुस् प्रधानमन्त्री ज्यूले नेतृत्व गरेको नेकपा नै आधिकारिक मान्यता पाउँछ । हाम्रो सूर्य चिन्ह कसैले खोसेर लैजान सक्दैन ।’ उहाँले भन्नुभयो, ‘माधव नेपाल र प्रचण्डहरूले चाहेर नेकपा विभाजित हुँदैन ।’ मुलुकका विभिन्न स्थानमा भएका सभाहरूले जनता प्रधानमन्त्रीको पक्षमा रहेको प्रमाणित गरेको उहाँको दाबी थियो ।

ओखलढुङ्गा आफ्नो जन्मभूमि भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले यस क्षेत्रको विकास आफ्नो प्राथमिकतामा पर्ने बताउनुभयो ।

रुम्जाटार विमानस्थलदेखि स्वर्ण सगरमाथासहित यस क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवका योजनाका विषयमा समेत उपप्रधानमन्त्री पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

प्रदेशका मुख्यमन्त्री र राज्यमन्त्रीलाई माथिल्लो सगरमाथाको विकासमा जोड दिन र योजना प्राथमिकिकरण गरेर केन्द्र सरकारमा पेस गरे आफूले त्यसलाई सम्बोधन गर्ने आश्वासन दिनुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताउनुभयो ।

ओखलढुंगासहितका पहाडी जिल्लाहरूमा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको बताउनुभयो । प्रधानमन्त्रीको नेतृत्वमा मुलुकको विकास अघि बढेको दाबी गर्नुहुँदै मन्त्री थापाले वर्तमान सरकारको विरोध गर्नेहरू विकासको बाधक बनेको आरोप लगाउनुभयो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड–नेपाल समूहलाई प्राइभेट कम्पनीको संज्ञा दिनुभएको छ ।

ओखलढुङ्गाको चिशंखुगढीमा आयोजित नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ओली नेतृत्वको नेकपाले आधिकारिकता पाउने दाबी गर्दै स्वार्थ समूहका रुपमा देखिएको प्रचण्ड–नेपाल र खनाल पक्ष प्राइभेट कम्पनी रुपमा रहेको बताउनुभयो । मुख्यमन्त्री राईले प्रचण्ड–नेपाल समूहले फोहोरी खेलमा मुलुकलाई लैजान खोजेपछि ताजा जनादेशमा जानु परेको बताउनुभयो ।

प्रधानमन्त्रीको कदम असंवैधानिक बताउने समूह नै विधि विद्यानभन्दा फरक बाटोमा गएको उहाँको भनाई छ । ‘जनतामा जान्छु भन्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भन्नेहरूलाई मेरो प्रश्न छ, राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीलाई हटाएर देश कब्जा गर्ने तपाईँहरूको प्रयास चाहिँ कुन विधि र पद्धितमा आधारित छ ? त्यसैले प्रधानमन्त्रीको होइन देश डुबाउन खोज्ने कम्पनीको कदम असंवैधानिक छ ।’ उहाँले भन्नुभयो, ‘जहाँसम्म आधिकारिकताको सवाल छ त्यो त ओली नेतृत्वको नेकपा नै आधिकारिक हो भन्ने हामीसँग धेरै प्रमाण छन् ।

दाहाल–नेपाल र खनालहरूको त स्वार्थ समूहमा लागेका ठेकेदारहरूको कम्पनी हो त्यसले आधिकारिकता पाउने कुनै सम्भावना छैन ।’ नेताहरूले प्रधानमन्त्रीलाई बन्द कोठामा थुनेर लेनदेनको हिसाब गरेकाले संसद् विघटन गरेर ताजा जनादेशमा जानु परेको उहाँको भनाई थियो । प्रचण्ड–नेपाल समूहले नेकपाका कार्यकर्ता र नेपाली जनताको भविष्यमा खेलबाड गर्न खोजेका उहाँको तर्क थियो ।

प्रचण्डले सडकमा पुगेर आफ्नो सक्कली रूप देखाएको बताउँदै मुख्यमन्त्री राईले चुनावमा मुलुक गइसकेकाले आगामी निर्वाचनमा आधिकारिक नेकपाबाट बाहिरिएर जानेहरू पराजित हुने बताउनुभयो । ‘मुलुक अब चुनावमा गइसकेको छ । चुनाव निर्धारित मितिमा हुन्छ । नेकपाबाट चोइटिएर जानेहरूलाई तपाई हामी सबै मिलेर धुलो चटाउनुपर्छ ।’ मुख्यमन्त्री राईले जनताको समृद्धिको सपना पुरा गर्न आफूले प्रदेशमा विश्वासको प्रस्तावको सामना गरिरहेको बताउनुभयो ।

प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्य मन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको विकासमा आफूले गरेका पहलबारे विस्तृतमा जानकारी गराउनु भएको थियो ।

राज्यमन्त्री गुरुङले चिशंखुगढी गाउँपालिकामा प्रदेश सरकारबाट आएको बजेटबारे जानकारी गराउँदै स्थानीय सरकारले अपेक्षित काम गर्न नसकेको बताउनुभयो । उहाँले स्थानीय सरकारले कोटगढीको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत नक्कली बनाएर दिएकोमा आक्रोश व्यक्त गर्नुभएको थियो । उहाँले नक्कली डिपिआरका विषयमा छानबिन थाल्न अख्तियारलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले गरेको संसद् विघटनको विरुद्धमा नेकपाकै प्रचण्ड–नेपाल समूले देशभर आन्दोलनका कार्यक्रम सञ्चालन गरेपछि संसद् विघटन गर्नुको औचित्य पुष्टि गर्दै ओलीको पक्षमा जनमत बटुल्न जनसभा आयोजना गरिएको चिशंखुगढीका नेकपा नेता अशोक थापाले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा हजारौँ सर्वसाधारण र नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया