पत्रकार आचार्यद्धारा मिलन राई स्मृति अक्षयकोषलाई ५० हजार दिने घोषणा

Halesi Khabar

खोटाङ, २९ माघ । पत्रकार हरिवोल आचार्यले विद्यार्थी नेता स्वर्गीय मिलन राई स्मृति प्रतिष्ठानद्धारा स्थापना गर्न लागिएको अक्षयकोषका लागि नगद रु ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ । वि.सं. २०७३ माघ २७ गते भक्तपुरमा भएको मोटरसाईकल दुर्घटनामा ज्यान गुमाउनुभएका रावाबेँसी गाउँपालिका–३ लामिडाँडाका विद्यार्थी नेता राईको चौथो स्मृति दिवसको अवसरमा अक्षयकोष स्थापनार्थ पत्रकार आचार्यले उक्त बराबरको रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

हलेसी न्यूज नेटवर्क प्रालिका सञ्चालकसमेत रहनुभएका पत्रकार आचार्यले अनेरास्ववियुका तत्कालीन केन्द्रीय सदस्य स्वर्गीय राईको स्मृतिमा स्थापित प्रतिष्ठानले खडा गर्न लागेको अक्षयकोषका लागि उक्त बराबरको रकम प्रदान गर्ने घोषणा गर्नुभएको प्रतिष्ठानका अध्यक्ष पदम थुलुङ राईले बताउनुभयो । रु दश लाखभन्दा बढी रकमको स्वर्गीय मिलन राई स्मृति अक्षयकोष स्थापना गरी सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई वर्षेनी पुरस्कृत गर्ने प्रतिष्ठानको तयारी छ ।

यसअघि अक्षयकोषको लागि रु एक लाख बढी रकम सङ्कलन भइसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले राई निवास नजिकै स्मृति पार्कसमेत निर्माण गरिरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

स्वर्गीय राईले छोटो समयमा विद्यार्थी राजनीतिमा फड्को मार्नुभएको थियो । राईलाई कुशल नेतृत्व लिन सक्ने राजनीतिक सङ्गठक मान्ने गरिएको विद्यार्थी नेताहरु बताउँछन् ।

सङ्गठनकै काममा काठमाडौँबाट घर फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते बन्नुभएका नेता राईको उपचारको क्रममा निधन भएको थियो । प्रतिष्ठानले राईको स्मृतिमा वर्षेनी कार्यक्रम तथा सामाजिक गतिविधि गर्दै आएको छ ।

यो वर्षको स्मृति दिवसमा ललितपुरस्थित हात्तिवनमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । यसअघि राईको स्मृतिमा प्रतिष्ठानले पुस्तकसमेत प्रकाशन गरेको थियो ।

तपाईको प्रतिक्रिया