मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायो : उपाध्यक्ष कँडेल

Halesi Khabar

खोटाङ, २९ माघ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौँलाई नजिक बनाएको बताउनुभएको छ । विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आउनुभएको अवसरमा बुधबार दिक्तेल बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष प्रा. डा. कँडेलले पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकै दिनमा काठमाडौँ आउजाउ गर्ने वातावरण बनेको बताउनुभयो ।

उपाध्यक्ष प्रा. डा. कँडेलले खोटाङको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना, बङ्शिालाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्र, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडक लगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । दिक्तेल बजारस्थित ईन्द्रेणी होटलमा आयोजना गरिएको कार्यक्रम उपाध्यक्ष प्रा. डा. कँडेलले जिल्लामा सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन जिल्लाबासीको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीको पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलीयाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङ मार्ग निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख नारायणप्रसाद निहुरेले मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल–खचेवाभञ्ज्याङ खण्डको कालोपत्रका काम आगामी आर्थिक वर्ष पूरा गर्नेगरी काम भइरहेको बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा खोटाङका नेता देवविक्रम राईले खोटाङसँग सम्बन्धित सडक, पुल तथा विद्युतको कामलाई द्रुतगति दिन आयोगका उपाध्यक्ष प्रा. डा. कँडेललाई ध्यानाकर्षण गराउनुभएको छ । जिल्लामा सञ्चालित अधिकांश विकास निर्माणका काममा ठेकेदार कम्पनीको लापरवाहीले ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन काम भइरहेको जानकारी गराउनुहुँदै नेता राईले यसप्रति कडाइ गर्न अनुरोध गर्नुभयो ।

प्राविधिक टोलीसहित अनुगमनमा निस्कनुभएका उपाध्यक्ष प्रा. डा. कँडेल बुधबार नै साँझ कालोपत्रको काम भइरहेको दिक्तेल–चखेवा सडक अवलोकन गर्नुहुँदै छिमेकी जिल्ला भोजपुर जानुभएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत रामेछापको दोलालघाटबाट खोटाङको हलेसी हुँदै दिक्तेल आउनुभएका उपाध्यक्ष प्रा. डा. कँडेलको टोली पाँचथरको चुवाभञ्ज्याङसम्म पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया