कविता : ‘एक हुल मान्छेहरु’

Halesi Khabar

  – कान्ति श्रेष्ठ

एकहुल मान्छेहरु
जो भ्रमका झण्डा बोकेर
बेसुर बेसुर मुद्रामा लगातार
उल्टो पाईला हिडिरहेका छन्

ओ बेसुरा हो
अब त आफ्नो सुर खोज
तिमिले त निमुखाहरुको निम्ती पो
लड्नु पर्ने हो
जो एक छाक खानका निम्ती
हजारौँ सपनाहरु पछाडि छोडिदिन्छन्
तिमिले त गरिबहरुको आवाजहरुलाई
बुलन्द गर्नु पर्ने हो
जो एउटा जाडो कटाउन पुरै मास
जाडैसँग बाजी खेलि रहेका छन्
साँच्चै तिमि त आगोको झिल्का हुनुपर्ने हो
यस्तो बेला
तर खै याहाँ कहिले पलाउँछ चेतनाको वृक्ष ?
कहिले उभिन्छ साहाराको लट्ठी ?

याहाँ हजारौँले आफ्नो प्रिय सन्तान गुमाए
जो निस्वार्थ तिम्रा लागि निरन्तर लडेका थिए
जसले साँच्चै पिडाको तातो आँशु पिएका छन्
उनीहरुलाई अब यि खोक्रो परिवर्तनको एक रति आशा छैन
तिमिले चालेको बेसुरा हिँडाईप्रति एकरति विस्वास छैन

तिमिले त अशाहयहरुका निम्ति पो बोलिदिनु पर्ने हो
सहिदको आलो रगतको निशानी संरक्षणका निम्ति
बलात्कृत चेलिको अस्मिता रक्षाको निम्ती
साँच्चै तिमि त यस्तो बेला
चट्टान हुनुपर्ने हो
तर खै कहिले बल्दछ अब आशाको दियो ?
कहिले चुलिन्छ शान्तिको पहाड ?
एक हुल मान्छेहरु निरन्तर उल्टो हिँडिरहेका छन्
जसमा जमात देखाउनकै निम्ति
त्यही मिसिएका छौ
सुन तिमिले
तिम्रो जिम्मेवारी विर्सिएका छौ ।
इतिहाँसलाई घात गरेका छौ
हजारौँको बलिदानीमाथी बज्रपात गरेका छौ

(कवि : कान्ति श्रेष्ठ जनयुद्धका महान शहिद कमरेड ठुलकुमार श्रेष्ठको छोरी हुन् )

तपाईको प्रतिक्रिया