१९ वर्षीया बालिका उत्तराखण्ड राज्यको मुख्यमन्त्री बन्दै

Halesi Khabar

एजेन्सी । भारतको हरिद्वार जिल्लाको दौलतपुर गाउँकी एक बालिका अहिले चर्चाको शिखरमा छिन । १९ बर्षीया सृष्टि गोस्वामी उत्तराखण्डको एक दिनका लागि मुख्यमन्त्री बन्न लागेकाले उनको चर्चा चुलिएको हो ।

आज २४ जनवरी, राष्ट्रिय बालिका दिवसको अवसर पारेर गोस्वामीलाई उत्तराखण्ड राज्यको एक दिनको मुख्यमन्त्री बनाईंदैछ । मुख्यमन्त्री नियुक्तिको यो सन्दर्भ प्रतिकात्मक भनिए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुने बिबिसीले जनाएको छ ।

गोस्वामीले आज बाल विधानसभा सत्रमा मुख्यमन्त्रीको हैसियतमा सरकारका विभिन्न विभागका काम कारवाहीको निरीक्षण गर्नेछिन । त्यस क्रममा विभागीय प्रमुखहरुले आ–आफ्ना कामको प्रगति बारे जानकारी दिनेछन भने गोस्वामीले आफ्नो सुझाव दिनेछिन ।

सामाजिक सञ्जालमा सृष्टिले भनेकी छिन, “एक दिनका लागि मुख्यमन्त्री बन्ने अवसर पाएकोमा म धेरै खुसी छु । उत्तराखण्ड सरकारका विभिन्न विभागका प्रस्तुतीपछि मैले पनि केही सुझावहरु दिनेछु । मेरा सुझावहरु बालिकाहरुको सुरक्षासंग सम्बन्धित हुनेछन ।”

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह पनि यो कार्यक्रममा उपस्थित हुनेछन । उत्तराखण्ड विधानसभा भवनको एक सभाकक्षमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म यो कार्यक्रमको आयोजना गरिंदैछ ।

उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार उत्तराखण्ड सरकारका तर्फबाट सृष्टि गोस्वामीलाई एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुलाई सशक्तिकरण गर्नका लागि जनचेतना फैलाउनु रहेको छ ।

भारतको रुड्की गाउँकी सृष्टि बीएसएम पीजी कलेजमा बीएससी एग्रीकल्चर विषयमा अध्ययनरत छिन । उनका पिताले गाउँमा पसल चलाउँछन । उनकी आमा गाउँकै आँगनबाडी कार्यकर्ता हुन ।

सृष्टिका आमा बुवा दुवैले आफ्ना छोरीलाई एक दिनको मुख्यमन्त्री बनाउन लागेकोमा उत्तराखण्ड सरकार प्रति आभार ब्यक्त गरेको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया