कृषिमा आधुनिक प्रविधि अपनाउँदै युवा किसान गंगाबहादुर

Halesi Khabar

खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गंगाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गर्नुभएको छ । राजनीतिसँगै कृषि पेशासमेत गर्दै आउनुभएका विश्वकर्माले परम्परागत कृषि पेशालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मुल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गर्नुभएको हो ।

खोटाङ कृषि फार्म स्थापना गरेर व्यवसायिक रुपमा कृषि पेशा अपनाउँदै आउनुभएका विश्वकर्माले उच्च गुणस्तर भएका तरकारी उत्पादन गर्ने उद्देश्यले रु ४२ लाखको लागतमा एकैसाथ चार वटा हाइटेक निर्माण गर्नुभएको छ । प्रदेश सरकार अन्तरगत कृषि ज्ञान केन्द्र खोटाङको रु ३२ लाख र खोटाङ कृषि फर्मको रु दश लाखमा फरकफरक आकारको चारवटा हाइटेक एकैसाथ निर्माण गरेर व्यवसायिक तरकारी खेती शुरु गर्नुभएको हो ।

नगरपालिकाले शुरु गरेको प्राङ्गारिक कृषि अभियान कार्यक्रम अन्तरगत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा चार हाइटेक निर्माण गरिएको फार्मका प्रबन्धक विश्वकर्माले बताउनुभयो । जिआइ पाईप र युवी प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेकमा उत्पादित तरकारी र च्याउ दिक्तेलबजार लगायत राजधानी काठमाडौँमा समेत खपत गराउने लक्ष्य छ ।

पाँच वर्षभित्र अर्गानिक नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान विश्वकर्माले गोलबेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाजर लगायत विभिन्न प्रजातिका तरकारी खेती शुरु गर्नुभएको छ । प्राङ्गारिक कृषि अभियान कार्यक्रम अन्तरगत विश्वकर्माले आधुनिक बङ्गुर खोर तथा भकारो सुधार, च्याउको बोइलर मेसिन सहितको घर निर्माण गर्नुभएको छ ।

बिगतदेखि नै तरकारी, माछा, फलफूल खेती गर्दै आउनुभएका विश्वकर्मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य हुनुहुन्छ । बिहान÷बेलुका तथा विदाको समयमा तरकारी खेतीमा समय दिनुहुने विश्वकर्माले स्थानीय दुई युवालाई रोजगारीसमेत दिनुभएको छ ।

विश्वकर्माको कृषि फार्ममा कामदारसँगै श्रीमती सरिता राई (विश्वकर्मा)ले साथ दिने गर्नुभएको छ । विश्वकर्माले आफ्नै फार्ममा गँड्यौला मल र जैविक विषादि उत्पादनको तयारीसमेत गर्नुभएको छ । “अन्य मलको तुलनामा गँड्यौला मलले बढी उत्पादन दिनुका साथै गुणस्तरीयसमेत हुन्छ”, विश्वकर्माले भन्नुभयो, “आधुनिक प्रविधि अपनाएर कृषि पेशा गर्दा कम मेहनतमा बढी आम्दानी लिन सकिन्छ ।”

जिल्लाका अगुवा कृषकसमेत रहनुभएका विश्वकर्माले उत्पादन गरेका कृषि उपज जिल्लाका विभिन्न ठाउँ तथा बाहिरी जिल्लासमेत निर्यात हुने गरेको छ । कृषि पेशाबाटै खरखर्च र बालबच्चाको पढाइ धान्दै आउनुभएका विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रदान गरिने सम्मान तथा पुरस्कारसमेत हात पारिसक्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया