एक नम्बर प्रदेशसभा बैठक ३ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित

Halesi Khabar

विराटनगर, ७ माघ । प्रदेश नम्बर १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएको थियो ।

सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । करिब २ः१० को समयमा शुरु भएको बैठक तीन मिनेटपछि सभामुखले बैठक स्थगन भएको सूचना सभामा सुनाउनुभएको थियो ।

प्रदेशसभा भवनमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभा अधिवेशनलाई नियमित र शान्तिपूर्वक सञ्चालन गर्नुपर्ने र यसका लागि सभामुखले प्रमुख भूमिका खेल्नुपर्ने बताएको छ । यसैबीच प्रदेशसभा भवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रदेशसभा अधिवेशनका लागि रणनीति बनाउन सत्तारुढ नेकपाका दुवै समूह र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको छुट्टाछुट्टै बैठक बसेको थियो । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव तथा संसदीय दलले प्रदेश सांसदहरुलाई कारवाही गरेको अवस्थामा नेकपाका दुवै पक्ष र काँग्रेसको बैठक बसेको हो ।

 

तपाईको प्रतिक्रिया