ऐसेलुखर्कमा दुई दिने कृषि मेला प्रदर्शनी

Halesi Khabar

खोटाङ, १ माघ । किसानको प्रोत्साहन तथा कृषि पेशाको सम्मान गर्ने उद्देश्यले ऐसेलुखर्क गाउँपालिकाले कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । ‘कृषि उव्जनीको बृद्धि कृषकको सान, व्यवसायीक कृषकलाई सम्मान हाम्रो अभियान’ भन्ने नारासहित मङ्गलबार र बुधबार वडा नम्बर–३ ऐसेलुखर्क बजारमा पालिकास्तरीय दुई कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो ।

कृषकले उत्पादन गरेका कृषि उपज बीचमा प्रतिष्पर्धा गराउने, एक ठाउँका कृषकलाई अर्को ठाउँका नमूना कृषकको रुपमा सिको गराउँदै समग्र किसानलाई व्यवसायिक बनाउन कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । कृषि मेला प्रदर्शनीमा गाउँपालिकाका सातवटै वडाका किसानले तरकारी बाली, खाद्यान्न बाली, फलफूल बाली, दलहन तथा तेलहन, नगदे बाली, जरे बाली र विविध बाली प्रदर्शनीमा राखेका थिए ।

कृषि मेलामा गाउँपालिकाका ऐसेलुखर्क, महेश्वरी, राखाबाङ्देल, जलेश्वरी लगायतका ठाउँका किसानले ल्याएका तरकारी, फलफूल, खाद्यान्न, तेलहन÷दलहन तथा नगदे बाली अन्तरगतका १५ विद्याका स्टल राखिएको गाउँपालिकाको कृषि तथा पशु शाखाले जनाएको छ । कृषि मेला प्रदर्शनी समापन कार्यक्रममा १५ विद्यामध्ये हरेक विद्याका प्रथम, दोस्रो र तेस्रो गरी ४५ किसानलाई पुरस्कृत गरिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर रहेको छ । अधिकांश लेकाली भेग रहेको उक्त गाउँपालिकामा गाउँपालिकाकै लगानीमा कृषि मेला प्रदर्शनी आयोजना गरेपछि कृषकहरु उत्साहित बनेका छन् ।

ऐसेलुखर्कमा उत्पादित आलु जिल्लाका विभिन्न ठाउँका कृषकले बीउको लागि खरिद गरेर लानेका गरेका छन् । अर्गानिक कृषि उपज पाइने उक्त गाउँपालिकाको आलु राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्लामा समेत निर्यात हुने गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया