गर्भजाँच गर्न साकेलामा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम

Halesi Khabar

खोटाङ, १ माघ । गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गर्नका लागि खोटाङको साकेला गाउँपालिकामा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँचको सुविधा बिस्तार गर्नका लागि गाउँपालिका र वनहर्ट वल्डवाईडको सहकार्यमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको हो ।

साकेला गाउँपालिका–३ खिदिमा स्वास्थ्यचौकीमा बुधबार स्थानीय गर्भवती महिलाको गर्भजाँच गर्दै ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । खिदिमामा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम उद्घाटन गर्नुभएको हो ।

सुरक्षित मातृत्वका लागि वनहर्ट वल्डवाईडले गर्भजाँच गर्ने उपकरण प्रदान गरेपछि तालिम प्राप्त एक जना अनमीको व्यवस्था गरेर ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । केही समयपछि वडा नम्बर–१ बाँझेच्यानडाँडास्थित स्वास्थ्यचौची र सामुदायिक स्वास्थ्य इकाई केन्द्र डाँडागाउँ, वडा नम्बर–२ रतन्छा स्वास्थ्यचौकी, वडा नम्बर–४ मात्तिमस्थित आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर–५ मात्तिमबिर्तास्थित स्वास्थ्यचौकीमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताउनुभयो ।

गाउँपालिकाले तालिम प्राप्त अनमी मीना खड्कालाई हरेक महिनाको एक दिन तोकिएको स्वास्थ्य संस्थामा पुगेर घुम्ती शिविरमार्फत गर्भवती महिलाको गर्भ जाँच गर्ने जिम्मेवारी दिएको छ । आज (बिहिबार) मात्तिमस्थित आधारभूूत स्वास्थ्य केन्द्रमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गर्ने कार्यक्रम छ ।

स्थानीय तह स्थापना भएको लामो समयपछि गाउँमै गर्भजाँच सेवा शुरु भएपछि उक्त गाउँपालिकाका सेवाग्राही हर्षित भएका छन् । यसअघि घण्टौँ पैदल यात्रा गरेर दिक्तेलस्थित जिल्ला अस्पताल पुगेर गर्भजाँच गराउँदै आएका सेवाग्राही ढिलै भएपनि गाउँमै उक्त सेवा पाएपछि हर्षित भएका हुन् ।

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा यसअघि हलेसी तुवाचुङ नगरपालिकाले ११ वटै वडामा एकैसाथ उक्त कार्यक्रम लागू गरेको थियो । पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले उक्त कार्यक्रमलाई बिस्तार गर्दै गएका छन् ।

तपाईको प्रतिक्रिया