शुभकामनासँगै प्रचण्ड–माधव समूहको अपील, “संविधानको रक्षा गर्न एकजुट भएर लागौँ”

Halesi Khabar

काठमाडौँ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले संयुक्त रुपमा माघे संक्रान्तिको शुभकामना दिनुभएको छ । आज एक शुभकामना सन्देश प्रकाशित गर्दै अध्यक्ष द्वय प्रचण्ड र नेपालले माघे सक्रान्तिको शुभकामना दिनुभएको हो ।

“थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघे सङ्क्रान्ति र माघे सकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ” शुभकामना सन्देशमा उल्लेख छ ।

कोरोना संक्रमण जोखिम बारे सचेत गराउँदै सामाजिक दुरी कायम गर्न सन्देशमार्फत आग्रह गरिएको छ, “नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण मनाउन आग्रह पनि गर्दछौँ ।”

शुभकामना सन्देशमा समसामयिक राजनीतिक प्रशङ्ग पनि जोड्दै संविधानको रक्षा गर्न आह्वान गरिएको छ । सन्देशमा भनिएको छ, “नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, नेपाली जनताको बलिदानी पूर्ण स्घर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ ।”

प्रचण्ड र नेपालले हस्ताक्षर गर्नुभएको अपीलमा भनिएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजाति लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौँ ।”

तपाईको प्रतिक्रिया