हलेसी खबर
खोटाङ, २८ पुस । जन्तेढुँगा गाउँ पालिकाले पालिका भित्रका विद्यार्थीलाई एक हप्ता विदा दिएको छ । अत्याधिक जाडोका कारण विभिन्न विद्यालयहरुमा बालबालिकाहरुलाई निमोनिया, रुघाखोकी र ज्वरो आउने समस्या देखिएकाले विद्यार्थीहरुलाई विदा दिईएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले पुस २९ गते देखि लागु हुनेगरी माघ ६ गते सम्म विद्यालयमा पठनपाठन नगराउन सबै विद्यालयहरुलाई पत्रचार गरेको छ । पालिकाका ३६ वटा सामुदायीक तथा सँस्थागत विद्यालयहरुलाई पत्रचार गर्दै यस अवधिमा विद्यालय भने खुलागरेर आन्तरिक लेखा परिक्षण, अन्तिम लेखा परिक्षण, भौतिक निर्माण र कार्यतालिका निर्माण जस्ता प्रशासनिक कार्यहरु संचालन गर्न निर्देश गरेको छ ।
मंगलबार २८ गते बसेको जन्तेढुँगा गाउँपालिका शिक्षा समितिको निर्णयले विद्यार्थीलाई छुट्टी दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले जानकारी दिए ।