‘नेर्पा भुलभुले फुटबल कप’को उपाधि भोजपुरको खावालाई

Halesi Khabar

खोटाङ, २४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित सन्सारीडाँडा खेलमैदानमा आज शुक्रबार साँझ सम्पन्न अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि भोजपुरको खावाले उचालेको छ । जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको ‘नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटबल कप’को फाइनल खेलमा साकेला गाउँपालिका–२ रतन्छालाई १–० गोल अन्तरले पराजित गर्दै टेम्के मयुम गाउँपालिका–५ खावाले उपाधि उचालेको हो ।

प्रतियोगितामा प्रथम सफल खावाले नगद रु एक लाख एक हजार १११ र दोस्रो हुने टोली रतन्छाले रु ५५ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सेमी फाइनलिस्ट दुई टोलीले जनही रु २० हजार १११ नगद पुरस्कार प्राप्त गरेको प्रतियोगिताका संयोजक विरेन गुरुङले जनाउनुभयो ।

च्यालेन्ज कपको विधागत पुरस्कारतर्फ भोजपुरका खेलाडीहरु उत्कृष्ट गोल रक्षक अरुण राई, उत्कृष्ट डिफेन्डर कल्याण राई र उत्कृष्ट मिड फिल्डर सप्तराज राई घोषित हुनुभएको छ । यता, रतन्छाका प्रशान्त राई उत्कृष्ट फरवार्ड, सर्वोत्कृट खेलाडी विनोज राई र उत्कृष्ट प्रशिक्षक राजन राई छनोट हुनुभएको छ ।

प्रतियोगितामा हाइस्कोररको पुरस्कार भने बाक्सिलाका सोनित राईले प्राप्त गर्नुभएको गर्नुभएको छ । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही रु दुइ हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक गुरुङले बताउनुभयो ।

हाईस्कोरर पुरस्कार नगद रु तीन हजार १०० तथा सर्वोत्कृष्ट खेलाडीको लागि नगद रु चार हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । नेर्पा स्पोर्टस क्लव नेर्पाको आयोजनामा बिहिबार सञ्चालित खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाई ५–१ गोल अन्तरले पराजित गर्दै रतन्छा फाइनलमा पुगेको थियो ।

निर्धारित समयमा बराबरी २–२ गोलको स्कोर निस्केपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ट्राईब्रेकरमा हराउँदै खावाले फाइनल यात्रार तय गरेको थियो । खोटाङसहित छिमेकी जिल्लाका २३ वडा सहभागी प्रतियोगितामा बाक्सिला र सोल्माले सेमी फाइनलिष्टमै चित्त बुझाउनुपरेको छ ।

प्रतियोगिताका विजयी टोली तथा उत्कृष्ठ खेलाडीलाई सन्सारीडाँडामा आयोजना गरिएको समापन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दीपनारायण रिजालले नगद तथा पुरस्कार प्रदान गर्नुभयो । छ दिनदेखि निरन्तर सञ्चालन भएको प्रतियोगिता समापन कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया