कर्मचारी भर्ना गर्दै बाराहा पोखरी गाउँपालिका

Halesi Khabar

हलेसी खबर

खोटाङ, २१ पुस । खोटाङको बराहपोखरी गाउँपालिकाले कृषि तथा पशुपालनको व्यवसायीकरणका लागि दक्ष जनशक्ती जुटाउन कर्मचारी भर्ना गर्ने भएको छ । पालिकाले एक साथ छ जना कर्मचारीको नायव कृषि तथा पशु सेवा प्राविधिक सहायक नियुक्तीको तयारी गरेको हो ।

गाउँपालिकाले नायव कृषि सेवा प्राविधिक सहायक स्तर चौथो पदका लागि ३ जना र नायव पशु सेवा प्राविधिक सहायक स्तर चौथो पदका लागि ३ जना कर्मचारी नियुक्तीको तयारी गरेको जनाएको छ । नायव कृषि सेवा प्राविधिक सहायक स्तर चौथो पदको कर्मचारी छनौटका लागि गाउँपालिकाले सोमबार लिखित परिक्षा सञ्चालन गरेको छ ।

गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको लिखित परिक्षामा ७ जना परिक्षार्थीले नाम निकालेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जारी गरेको सूचनामा उल्लेख छ । सो पदका लागि ३१ जनाले फर्म भरेकामा परिक्षामा १८ जना मात्र सामेल भएका थिए ।
यस्तै, नायव पशु सेवा प्राविधिक सहायक छनौटका लागि आगामी पुस २२ गते लिखित परिक्षा सञ्चालन हुने गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए । नायव पशु सेवा प्राविधिक सहायक स्तरका लागि पशुपालन तथा पशु स्वास्थ्य विषय लिएर टिएसएलसि उत्तिर्ण गरेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

यस्तै, एक जना प्राविधिक सहायक नियुक्तीका लागि आगामी पुस २७ गते लिखित परिक्षा सञ्चालन हुने जनाइएको छ । गाउँपालिकामा दुई जना कार्यालय सहयोगी नियुक्तीका लागि आगामी माघ ५ गते परिक्षा मिति तोकिएको छ । दुई जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन परेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

तपाईको प्रतिक्रिया