अखिलले घोषणा ग¥यो दोस्रो चरणको आन्दोलनमा

Halesi Khabar

हलेसी खबर

काठमाडौं, २१ पुस । पछिल्लो समय दुई छुट्टाछुट्टै समुह बनाएर राजनीतिक गतिविधी गर्दै आएका नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनका कार्यक्रमअनुसार २१ गते सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् । यसैगरी पुस २२ गते काठमाडौं उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन वा सिटी वा लाठी जुलुस निकाल्ने, पुस २३ गते देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने र २४ गते प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै धर्ना दिने, पुस २५ गते संसद विघटनको कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने, २६ गते बयलगाडा प्रदर्शन गर्ने र २७ गते प्रतिगमनको विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी पौष २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ) गरी २९ गते सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन गरिने अनेरास्ववियूका नेता बस्नेतले जानकारी दिए । तेस्रो चरणको आन्दोलनका कार्यक्रम भने माघ १ गते सार्वजनिक गरिने अनेरास्ववियूले जनाएको छ ।

तपाईको प्रतिक्रिया