बोपुङमा शुरु भयो सामुदायिक स्वास्थ्य इकाई

Halesi Khabar

हलेसी खबर

जन्तेढुँगा, १९ पुस । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ । दुरदराजमा रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै बोपुङको डुम्रेबोटेमा स्थापना गरिएको सामुदायीक स्वास्थ्य इकाई केन्द्र आइतबार संविधानसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका हुन् ।

सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ डुम्रेबोटेमा स्वास्थ्यचौकी सरहको सेवा दिनेगरी स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले जानकारी दिए । आवश्यक औषधि सहित एक जना अहेव र एक जना अनमीको व्यवस्था गरेरत्यस इकाई केन्द्रबाट सेवा सुचारु गरिएको जनाईएको छ ।

जन्तेढुँगाको ६ वडामध्ये डुम्रेबोटेमा स्थापना गरिएको सामुदायीक स्वास्थ्य इकाई केन्द्र गाउँपालिकाको तेश्रो हो । सामुदायिक स्वास्थ्य इकाई केन्द्र उद्घाटनका लागि गाउँपालिकाका अध्यक्ष शंकर राई, उपाध्यक्ष विमला राई, प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराई लगायत बोपुङ पुगेका थिए ।

यसअघि जन्तेढुंगा गाउँपालिका–१ देविस्थानको सिक्किमटारमा र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटाछिरुवाघारमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिसकिएको छ ।

यस्तै, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । गाउँपालिकाकै दोश्रो बर्थिङ सेन्टरबाट गत पुस १४ गतेदेखि सेवा सुरु गरिए पनि औपचारिक उद्घाटन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया