लफ्याङमा पुरुष फुटवल प्रतियोगिता हुने

Halesi Khabar

हलेसी खबर

खोटाङ, १९ पुस । जिल्ला सदरमुकाम नजिकैको लफ्याङमा मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । लफ्याङस्थित निर्माणाधिन मझुवागढी रणजितमान राई खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

आगामी फागुन १० गतेदेखी हुने प्रतियोगिताको नारा ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ राखिएको छ । आइतबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ तथा नमुना स्पोर्टस क्लव लफ्याङले पत्रकार सम्मेलन गरेर फागनु १० गतेदेखी १५ गतेसम्म खेल हुने जनाएको छ । जिल्लामा सबैभन्दा ठूलो पुरस्कार राशी भएको अन्तर वडा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुन लागेको दावि आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम टिमले नगद १ लाख ५५ हजार, दोश्रो टिमले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई टिमले ३१÷३१ हजार नगद पुरस्कार पाउनेछ । विधागत पुरस्कारतर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५÷५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । वडाध्यक्ष राईका अनुसार प्रतियोगिता उद्घाटनका दिन जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई नगद ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागिताका लागि ५ हजार ५५५ रुपैयाँ लाग्नेछ । एक टिममा ९ जना खेलाडी र ४ जना अतिरिक्त खेलाडी तथा १÷१ जना प्रशिक्षक र व्यवस्थापक हुनुपर्नेछ । प्रतियोगितामा ३ जना वाह्य खेलाडी सहभागि गराउन पाइने नमुना स्पोर्टस क्लबका अध्यक्ष काजीमान राईले जानकारी दिए । राईका अनुसार ५ फागुनसम्म टिम दर्ता गरिने र ६ फागुनमा खेल तालिका सार्वजनिक गरिनेछ ।

 

तपाईको प्रतिक्रिया