नेपाल कम्युनिष्ट पार्टी कता ? यता कि उता !

Halesi Khabar

–भीम राई
नेपाली राजनीतिमा उलटपुलट हुनु कुनै अनौठो कुरा रहेन । पार्टी फुट्नु र जुट्नुको कुनै सिमा बन्देज छैन । कति बेला कुन पार्टी मिल्छन् थाहा छैन । कतिबेला मिली नसक्दै फुट्छन् । त्यो पनि अनुमान लाउन सकिन्न । राजनीतिक पार्टीहरु जुट्नु र फुट्नुले केही व्यक्ति विशेषलाई फाईदा नै होला तर सिँगो मुलुकलाई भने यसले घाटामात्र दिएको छ । नेपालमा सबै भन्दा धेरै फुट्न सक्ने र जुट्न कमैमात्र जान्ने पार्टी भने कम्युनिष्ट पार्टी नै होला सायद । जसले स्थापनाकाल देखि आउँदा धेरैवटा विभाजनको मार खेप्नु परेको छ । आन्तरिक विवाद, छलफल र बहसहरु हुन्छन् ।

विचार र दृष्टिकोणको आधारमा फरकमत रहनु स्वभाविक मान्न सकिन्छ । तर, फरकमत र विचारहरुलाई किनारा लगाएर आफू एक्लै मैमत्ता बन्ने होडमा बढी कम्युनिष्ट नेताहरुनै पर्ने गरेका इतिहाँस छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले २०१७ साल देखि विभाजनको मार खेप्न थालेको इतिहाँस हामीले पाउँछौँ ।

हामीले पढ्ने कम्युनिष्ट पार्टीको इतिहाँसमा ०१७ सालको राजा महेन्द्रले गरेको राजनीतिक कुपछि विभाजनको रेखा कोरिएको पाइन्छ । तत्कालीन पार्टी नेतृत्व महासचिवले गर्ने कम्युनिष्ट परम्परा अनुसार केशरजङ्ग रायमाझी थिए । उनले २००७ सालमा स्थापित प्रजातन्त्रपछि निरन्तर राजनीतिक अस्थिरताका बाबजुद २०१५ सालमा भएको आम निर्वाचनपछि बनेको प्रजातान्त्रि सँस्कारको अन्त्य गर्ने राजा महेन्द्रको कदमलाई स्वागत गर्दै अगाडि बढेका थिए त्यो बेला कम्युनिष्ट पार्टीका महासचिव रायमाझी ।

राजाको निरंकुश शासनलाई स्वागत योग्य कदम भन्दै स्विकार गरेपछि पार्टी विभाजन भएको तथ्य अहिले भेटिन्छ । यसपछि नेपाल कम्युनिष्ट पार्टीको विभाजनको श्रृङ्खला शुरु हुन्छ । यसपछि नेकपाभित्र अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई हेर्ने दृष्टिकोणमा विवाद बढेर पार्टी विभाजन भयो । घरी घरी विचार दृष्टिकोणको आधारमा कहिले काँही चिनीयाँ कम्युनिष्ट आन्दोलनको समर्थन गर्ने नगर्ने भन्ने विषयमा वा रसियन कम्युनिष्टलाई हेर्ने दृष्टिकोणमा विवाद भएर पार्टी विभाजन भएको इतिहाँस रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको २००६ सालको चार वर्षपछि पहिलो महाधिवेशन २०१० साल भयो । जसमा मनमोहन अधिकारी महासचिव बनेका थिए । यसपछि २०१४ सालमा भएको दोस्रो महाधिवेशन भयो । महाधिवेशनमा विचार मनमोहनहरुको नेतृत्व भने केशरजंग रायमाझीको हातमा पुग्यो ।

अर्थात केशरजङ्ग रायमाझी माहासचिवमा निर्वाचित भए । उनै रायमाझीले २०१७ सालमा कम्युनिष्ट पार्टीलाई दरबारमा थन्काएका थिए । राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर जब विपि कोईराला (तत्कालीन प्रधानमन्त्री)हरुलाई जेल हाल्दै गर्दा रायमाझी भने राजाको पक्षमा खुलेर लागेका थिए । यानकी अहिलेको भाषामा भन्दा उनी प्रतिगमनको पक्षमा उभिएका थिए । रायमाझीको विरोधमा पार्टीपङ्क्ती उभियो । नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरु यसका विपक्षमा थिए ।

यो क्रम चल्दै गर्दा ०२३ सालसम्म आउँदा नेपालमा कम्युनिष्ट पार्टी एकदमै सुस्त बन्यो । तर केही उर्जावान व्यक्तिहरु मिलेर एकातिर पूर्व मेची कोसी प्रान्तीय कमिटि गठन गर्दै अगाडि बढे । केशरजङ्ग समूह त्यहिबेला छुट्टियो । एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन गराएर फेरी कम्युनिष्ट पार्टीलाई जीवन दिने कोशिस गरे । तर, योपनि लामो भने जान नसकेको हामीले पढन पाउँछौ ।

२०२५ साल सम्म तुलसीलाल अमात्य र पुष्पलाल श्रेष्ठले नेतृत्व गरिरहेका भएपनि उनिहरुपनि छुट्टिएर फेरि कम्युनिष्ट आन्दोलन दुखद अवस्थामा पुराएका थिए । यसपछि ०२८ सालको आसपासमा नेपाली कम्युनिष्ट आन्दोलनको अर्को अध्याय शुरु भएको पाईन्छ । एका तिर नेपाल कम्युनिष्ट पार्टी झापा जिल्ला कमिटि र अर्का केन्द्रीय न्यूक्लियस पार्टी रहेका थिए तर पुष्पलाल यो बिचमा कतै रहेनन् ।

सिपी मैनालीको नेतृत्वमा झापा कमिटि र मोहोन विक्रम सिँहको नेतृत्वमा केन्द्रिय न्यक्लियस गठन भएको थियो । चर्चित झापा विद्रोह यहिबेला भएका थिए । जस्को नेतृत्व मैनालीको थियो । मैनालीकै नेतृत्वमा रहेका थिए वर्तमान प्रधानमन्त्री केपी ओली ।

यसपछिको यात्रामा कहिले जुट्दै कहिले फुट्दै कम्युनिष्ट आन्दोलन अगाडि बढेका छन् । यसबीचमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, भक्तबहादुर श्रेष्ठ र निर्मल लामा, मदनभण्डारी, वामदेव गौतम, राधाकृष्ण मैनाली जस्ता नेताहरूले जुट्दै फुट्दै आएका छन् ।

यस विचमा नेपाल कम्युनिष्ट पार्टीमा कोशी प्रान्तीय कमिटि, नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन, रातो झण्डा समूह, नेकपा मसाल, नेकपा माले, नेकपा मशाल, नेकपा मनमोहन, सर्वहारा श्रमिक संगठन, नेपाल मजदुर किसान पार्टी, नेकपा माक्र्सवादी, नेकपा आमात्य, नेकपा एकता केन्द्र, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत, नेकपा माओवादी केन्द्र, जस्ता दर्जनौँ कम्युनिष्ट नामका पार्टीहरु बने यो एक कहाली लाग्दो इतिहाँस रहेको छ ।

कम्युनिष्ट पार्टीमा विभाजन जति भएका छन् मिल्ने क्रम त्यति धेरै भएको पाइएको छैन । मिलि हालेमा पनि केही न केही तुष छाडेर आएका छन् । पछिल्लो काल खण्डमा आएर नेपालमा अस्थित्वमा रहेकै कम्युनिष्ट पार्टींलाई हर्ने हो भने पार्टी मिलनको तुष रहेकै छ । २०४७÷०४८ बाट शुरु भएको नेकपा एमालेको यात्रा २०५४ सालमा ब्रेक लागेको तुष अझै सिपि मैनालीले बोकि रहेका छन् ।

सिपिबाट क्रृषि कटेलहरु नेकपा एकिकृतको दोकानमा अझै रहेकै छन् । २०५१ सालबाट शुरु भएको माओवादीको पनि यात्रा सुखद देखिएन । शान्ति प्रकृयामा आइपुगेपछि यो पार्टीभित्र एकता पनि भएका छन् । साथै विद्रोह पनि देखिएकै छन् । मोहन वैद्य र विप्लबहरुले आ–आफ्नै दोकान थापेका छन् । गोपाल किराँती तथा आहुतीहरुले नाङ्लोमा भए पनि व्यापार फिजाइ रहेकै छन् ।

यसबीचमा अहिले फेरि नेपाली कम्युनिष्ट आन्दोलनमा अर्को भाँडभैलो शुरु भएको छ । शासन सत्ताको पाँचबर्षे अवधि प्राप्त गरेको नेपालकै सबै भन्दा ठुलो राजनीतिक दल, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को अहिले अवस्था जटिल छ । नेकपा भन्ने पार्टीमा दुईवटा शसक्त समुहले छुट्टाछुट्टै कार्यक्रमहरु गरिरहेका छन् ।

पार्टी औपचारिक रुपमै दुई टुक्रा भइसकेको पछि नाम र चुनाव चिन्हको झगडामा अहिले समय बिताउँदै छन् । माथिदेखि तलसम्म सोलोढोलो फुटी सकेको नेकपामा कार्यकर्ता तानातानको अवस्था छ । कार्यकर्ताहरु आफू कुन पार्टीमा छु थाहा छैन ।

ओली समूहले प्रचण्ड माधव समुहमा लागेकालाई उता लागेछन् भन्ने र प्रचण्ड माधव समूहले ओलीतिर लागेका कार्यकर्तालाई उता गएछन् भन्ने बाहेक अहिले कम्युनिष्ट पार्टीको नाम छैन । कार्यकर्ताहरुमा विश्वसनीयता र आत्मबल हराउन थालेको छ । उनीहरुले ‘नेपाल कम्युनिष्ट पार्टी कता ? यता कि उता ?’ भन्ने प्रश्नलिएर सङ्गठन गर्न गाह्रो महसुस गर्न थालेको पाइन्छ ।

तपाईको प्रतिक्रिया