यलम्बर सँगीत प्रतियोगिताको उपाधि खोटाङकी प्रवृत्ति राईलाई

Halesi Khabar

खोटाङ, २७ मङ्सिर । यलम्बर सँगीत प्रतियोगिताको प्रथम उपाधि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी प्रवृत्ति राईले चुम्नुभएको छ । किराँत राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय समितिले अनलाईनमार्फत शुक्रबार आयोजना गरेको छैटौँ सँस्करणको फाईनलमा प्रवृत्तिले प्रथम उपाधि चुम्नुभएको हो ।

 

वि.सं. २०७५ साउन २ गते ओखलढुङ्गामा सम्पन्न भिजन आईडल फस्ट रनरअप प्रवृत्तिले टप टेनमा पुगेका प्रतिष्पर्धीलाई उछिन्दै यलम्बर सँगीत प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्नुभएको आयोजक समितिका प्रसार विभाग संयोजक पदम थुलुङले बताउनुभयो । द यलखिम रेष्टुरेण्ट पार्टी प्यालेस ललितपुरमा आयोजना गरिएको फाईनल अडिसनमा सुनसरीकी सरिता राई दोश्रो र खोटाङकै लकेस राई तेश्रो भएका छन् ।

 

प्रतियोगितामा दर्शकको छनोटमा सुनसरीका रामकुमार राईलाई उत्कृष्ट प्रतिभा घोषणा गरिएको छ । यलम्बर सँगीतका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगिलाई क्रमशः नगद रु ३० हजार, १५ हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाण–पत्र प्रदान गरिने छन् ।

 

भर्जुअल प्रतियोगिता गरिएकाले विजेतालाई केहि समयपछि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । सामाजिक–साँस्कृतिक जागरण अभियानका रुपमा हरेक वर्ष सञ्चालन गरिँदै आएको प्रतियोगितालाई यसपल्ट कोरोना भाइरसको महामारीका कारण अनलाईन सँस्करणमार्फत विश्वव्यापी बनाइएको कलाकार सङ्घका केन्द्रीय अध्यक्ष रामकर राईले बताउनुभयो ।

 

प्रतिष्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो । जसका लागि विभिन्न दश देशका २१३ जना प्रतिस्पर्धीले भाग लिएका थिए ।

 

प्रतियोगीले आफ्नो ‘ओरिजिनल’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलब्ध गराउनुपर्ने र आयोजकले सोहि एमपीफोर फाईल भिडियोको आधारमा विभिन्न चरणका प्रतिष्पर्धा गराउने व्यवस्था मिलाइएको थियो ।      प्रतियोगितामा वरिष्ठ सँगीतकर्मी सुर्य थुलुङ, शम्भु राई, शान्तिराम राई, पार्वती राई र राजुएन राईले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

 

किराँती इतिहास, मौलिकता, भाषा, सँस्कार–सँस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किराँत राई साँस्कृतिक कलाकार सङ्घले यलम्बर सँगीत प्रतियोगिता सुरु गरेको जनाइएको छ । हालसम्म सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्विका राईले यलम्बर सँगीत प्रतियोगिताको पहिलो उपाधि हात पारिसकेका छन् ।

 

यसैबीच, यलम्बर सँगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने एलम्बर साँझमा सहभागी हुने अवसर पाउने भएका छन् । हरेक वर्ष एलम्बर साँझ सञ्चालन गर्दै आएको किराँत राई यायोक्खा हङकङले यलम्बर सँगीत प्रतियोगिताका विजेतालाई एलम्बर साँझमा प्रस्तुतिका लागि लैजाने निर्णय गरेको हो ।

 

यलम्बर सँगीत प्रतियोगिताका दोश्रो पुरस्कार विजेतालाई एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । पृथक क्रियसनले गीतको स्टुडियो खर्च निःशुल्क गर्ने र बाँकी खर्च जय राईले प्रायोजन गर्ने प्रसार विभाग संयोजक थुलुङले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया