यात्रा : दिक्तेलबाट रावाबेँसी हरमटारको

Halesi Khabar

–भीम राई
संयोगले नेपाल सरकारले घोषणा गरेको देशब्यापी अस्पताल बनाउने कार्यक्रमको शिलान्यास कार्यक्रममा खोटाङको रावाबेँसी गाउँपालिका जाने अवसर प्राप्त भयो । मङ्सिरको १४ गते बेलुकी हलेसी न्यूज नेटवर्कका अध्यक्ष हरिबोल आचार्यजीले ‘दाइ भोलि हलेसी तुवाचुङ नगरपालिका र रावाबँेसीमा अस्पताल शिलान्यास कार्यक्रमको निम्ता आएको छ’ सुनाए ।

आफू सम्बद्ध रहेको मिडिया हाउसमा आएका निम्तालाई अटेर गर्ने कुरा आएन । मैले “हुन्छ जाउँ न त” को जवाफ दिएकाले १५ गते बिहान तयार हुनै प¥यो । मङ्सिरको १५ गते नेपाल सरकारले देशव्यापी स्थानीय तहहरुमा एकैसाथ अस्पतालको शिलान्यास गर्ने कार्यक्रम तय गरेको दिन ।

सरकारले ३९६ स्थानीय तहमा एकै साथ २५, १५ र १० शय्याको अस्पताल शुरुवात गर्ने निर्णय अनुसार पहिलो देखिने काम भएकाले एक प्रकारले मनमा खुशी थियो । बिहान करीब ८ बजेको समयमा मित्र हरिबोलको फोन आउँछ । “दाइ कता हो ? हलेसीको शिलान्यास त बिहानै गरेछन् हामी रावाबेँसी मात्र भ्याइने भो ।” मैले सहजै भने “ठीकै छ रावाबेँसी भएपनि जाउँ ।”

रावाबँेसी जानुमा फाइदा पनि थियो । एक त हलेसी न्यूज नेटवर्कले पालिकाको केहि वृत्तचित्र बनाउने भएकाले चारथान पत्रकार साथीहरु त्यतै घुम्दै थिए । क्यामेरा, ड्राइपोड बोकेर उनीहरुले फुटेज सङ्कलनमा दुख गरिरहेका छन् । केदार, सञ्जिव, रामधन र डम्बरको टिमले गर्दै गरेको कामको अनुभव सुन्न पनि पाइने भएकाले रावाबँेसी जाने उत्सुकता रहेको थियो ।

हामी हिँड्नलाई अलि ढिला भयो । बिहान १० बजे हिँड्ने सोच आचार्यजीको थियो । करीब १ घण्टा जिरो प्वाइन्टमा कुराइ भयो । बल्ल आचार्यजी १५० सिसिको पल्सर लिएर आएपछि शुरु भयो हाम्रो यात्रा ।

बीचमा मिडिया हाउसको उनन्नयनका विषयमा विचार विमर्श गर्दै हिँडेका हामी हुर्लुङ पुगेर कफि खान एकछिन रोकियौँ । हुर्लुङको कफि सकिन लाग्दा प्रतिनिधिसभाका सदस्य विशाल भट्टराईको सचिवालयबाट फोन आयो । रावाबेँसीको खार्पामा शिलान्यासको तयारी भइरहेको छ चाँडै आउनु भन्ने । फोन गर्ने मित्र खेमराज देउसाली रहेछन् । हामी यहाँबाट हतारो गर्दै बाटो लाग्यौँ ।

नुनथला कटेर कुभिण्डेको ओरालो लागेपछि बाटोको स्वाद चाखियो । आफू पछाडि बसेका भएपनि अगाडि आचार्यजीले बाईकलाई उफार्दै रावाबेँसी गाउँपालिकाको वडा नं. १ कुभिण्डेको वडा कार्यालय पुगियो ।

केहि समय बाइक अड्याएर हाई÷हेल्लो गर्न थालिएको मात्र के थियो फेरि आचार्यजीको फोनमा घण्टी लाग्न थाली गो । उनी अलिपर गएर बोल्दै भने ‘हस हस अब आई हाल्यौँ’ यसपटक भने माननीय विशाल भट्टराईले नै फोन गरेका रहेछन् ।

यसपछि हरिबोल जीले ‘जाउँ दाइ’ भन्दै मोटरसाईकलको कान बटार्न थाले । हामी हिँड्यौ । ओराली जाँदै गर्दा कार्यक्रम शुरुनै हुन लागेको जानकारी पाएको साथै पालिकाले सञ्चालन गर्ने अस्थायी कोभिड अस्पताल भने रावाबेँसीको केन्द्र हरमटार मै उद्घाटन गरिने खबर पाएका थियौँ ।

ओरालोबाटैमा हामीले खार्पामा कार्यक्रम नै शुरु भइसकेको भए हामी त्यता नजाउँ, हरमटार मै पर्खौँ भन्ने सल्लाह गर्दै झरियो । दुखका साथ हरमटार पुगेपछि केही समयमात्र बस्दै गर्दा वृत्तचित्रको फुटेज संकलनमा गएका केदार र सञ्जिवको जोडी हरमटारको तीनकुने होटलमा आइ पुगे ।

केहि समय हामी रोकियौँ । साथीहरुले हामी आउने जानकारी नदिएकोमा गुनासो गर्दै आफूहरु कार्यक्रमकै लागि दौडिएको बताए । केहि समय सामान्य कुरा गर्दै अब खार्पा जानु नै पर्छ भन्ने निष्कर्षमा पुगेका हामीमध्ये एउटा मात्र बाइकमा दुईजना जाने सल्लाहा भयो ।
हरिबोल जीको बाईक मर्मतमा राख्नु पर्नै भएकाले सञ्जिवको बाईक लिएर हरिबोल र केदार लागे अस्पताल शिलान्यासस्थल खार्पा । सञ्जिव र म भने तीनकुनेमै रोकियौँ ।

कार्यक्रममा नेताहरुको भाषण लामै हुन्छ । यो थाहा भएकै कुरा हो । यसबीचमा रावाबँेसीमा नयाँ अरु के के होलान् ? सोच्न थालियो । केहि मानिसहरुसँग कुराकानी भए ।

तीनकुने होटल भन्दा अलि तलतिर जनता समाजवादीको पार्टी कार्यालय रहेछ । कार्यालयको बोर्डको तल एउटा टेबुल केहि प्याकेट मकैको बीउ र राता मकैका दानाहरु राखेर बसिरहेका रहेछन् । हुपबहादुर रानामगर र झुमा पाख्रेल । उनीहरुले त्यो मकै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मकै जोनबाट वितरण गर्न ल्याएका रहेछन् ।

स्थानीय ढाँडखर्क कृषि समूहको अगुवाइमा ल्याइएको मकै किसानलाई निःशुल्क दिइदो रहेछ । एक रोपनी जग्गामा एक प्याकेटका दरले वितरण गरिदो रहेछ । इच्छुक किसानले नागरिकता र लालपूर्जाको फोटोकपी बुझाएर मकैको बीउ लाने गरेका रहेछन् ।

अर्को कुरा पनि जानकारीमा आयो हुपबहादुर रानामगर र झुमा पोख्रेलहरु काठमाडौँ बस्दा रहेछन् । खासमा चाँहि लकडाउनको बेला गाउँ आएका उनीहरुले गाउँमा केहि नयाँ काम गरेको बताए । सञ्जिव भाइ तीनकुने होटलमै बसेर मोबाइल खेलाइरहँदा मैले मकैको बीउ वितरणको समाचार लेखेँ ।

यस्तै अर्को कुरा पनि थाहा भो । खार्पामा बन्दै गरेको अस्पतालको हरमटार लगायत वरिपरिका जनताको चित्त पटक्कै नबुझेको रहेछ । उनीहरु भन्दै थिए अस्पताललाई नौँ रोपनी जग्गा हामीले यहाँ राजीनामा गरेर दिइसकेका थियौँ ।

दुई रोपनी जग्गा राजीनामा गर्ने अन्तिम तयारीमा छ । तर, अस्पताल उता (खार्पा) लगेर धोका भयो । कुरा बुझ्दा स्थानीय जगतप्रसाद रेग्मी, मनकुमारी श्रेष्ठ, झुमा पोख्रेल, हुपबहादुर रानामगर, टेकबहादुर रानामगर, पुन्नबहादुर थापाले निःशुल्क जग्गा प्रदान गरेका रहेछन्् । यस्तै इन्द्रकुमार रेग्मी र हरि रेग्मीले जग्गा पास गर्न लागेका रहेछन् ।

अर्को डर त्यहाँका सर्वसाधरणको मनमा पसेको रहेछ । हरमटारमा आएको गाउँपालिकाको केन्द्र पनि अब खार्पा नै लाने भए भन्ने । कुरा त्यस्तै जिज्ञासा त्यस्तै सुनियो । उनीहरुले भन्दै थिए । “अस्पतालका लागि यतिका जग्गा दियौँ । अस्पताल भने खार्पामा लगेर राखे, त्यो पनि सरकारको नाममा जग्गा नै दिएका छैनन् रे भोलाहरि धिताल सरले । अनि अब गाउँपालिका पनि उतै लैजालान ? हामीले भोट दिएको बेकार जस्तै भयो ।”

यसपछि केहि समयपछि १० शय्याको अस्पताल शिलान्यास गरेर टोली हरमटार नै आइपुग्यो । कार्यक्रम गाउँपालिकाको केन्द्र हरमटारमा पालिकाले नै बनाएको कर्मचारी आवासगृहमा गर्ने निधो भएको रहेछ । त्यहा अस्थायी कोभिड १९ अस्पतालको उद्घाटन हुने कार्यक्रम रहेको पहिले नै खबर भाकोले हामीले पालो ग¥यौँ ।

हरिबोल जी र केदार जी आइपुग्नुभो । आउनासाथ केदारको काँधबाट क्यामेराको झोला र हरिबोलको हातबाट बाईकको चाँबी सञ्जिव र मैले लियौँ । हामी कार्यक्रमस्थल पुग्दा आसन ग्रहणको कार्यक्रम शुरु भइसकेको रहेछ ।

नेपाली पारामा निकै लामो आसन ग्रहणको गनगन सुनेपछि कोभिड अस्पतालको उद्घाटन भयो । प्रमुख अथिति प्रतिनिधिसभाका सदस्य विशाल भट्टराईले उद्घाटन गरे । कुभिण्डेका वडाध्यक्षले स्वागन भाषण गर्ने क्रममा केहि समस्याका कुरा र बहसका विषयहरु पनि राखे ।

उनले खार्पामा अस्पताल शिलान्याससँगै रावाबेँसी गाउँपालिका नामाकरण र हरमटार केन्द्र तोकिएकोमा परेको मुद्दाको बारेमा कुराहरु उठे । त्यस भेगका जनताको मनमा रहेको जिज्ञासालाई उनले वस्तुतः मिलाएर उठाएका थिए । यसपछि भाषण गर्ने लाईन लामै रह्यो ।

विषय शुभकामनाको मात्र थिए । पछि नेकपाका नेता हरि पोखरेलको भाषण गर्ने पालो आयो । उनले भूगोलका बारेमा भाषण गरे । अस्पताल खार्पामा हुुन उपयुक्त रहेको र सेवासुविधामा बाँडफाँड मात्र भएको उनले जिकिर गरे । साथै उनले गाउँपालिकाको नाम र केन्द्रका बारेमा भएको विवाद र परेको मुद्दाको बारेमा केहि घुमाउरो पाराले कुरा राखे ।

उनले हरमटार नै केन्द्र हुनुपर्नेमा आफू सहमत रहेको बताउँदै सबै नागरिकले हस्ताक्षर सङ्कलन गरेर आफूलाई दिन भने । उनले सङ्कलित हस्ताक्षरलाई आधार मानेर प्रधानमन्त्री केपी ओली समक्ष गएर भेट्ने कुरा सुनाए । उतापट्टि हरमटारमा उपस्थित सर्वसाधरणले भने कुरा बुझियो खार्पालीहरुको झेली कुरा भन्दै मञ्च छाडेर हिँडे ।

यसपछि बोल्ने नेताहरुले खास भूगोलको बारेमा बोलेनन् । प्रतिनिधिसभा सदस्य भट्टराईले भने हरमटार केन्द्र कसैले मुद्दा हाल्दैमा कतै नसर्ने बताए । प्रधानमन्त्री त के राष्ट्रपति नै भएपनि हरमटार केन्द्र अब हलचल नहुने भन्दै नेपाल सरकारले राजपत्रमा प्रकाशित गरिसेको, कानूनले एकपटकको लागि स्थानीय तहको नाम परिर्वतन र केन्द्र परिवर्तन गर्न सक्ने व्यवस्था गरेकाले कसैलाई नआत्तिन आग्रह गरे ।

अन्तिममा गाउँपालिका प्रमुख लीलानाथ निरौलाले कार्यक्रम विर्सजन भाषणमा केहि चुनौती र आफूले गरेका कामहरुको बारेमा बताए । रातपरिसकेको थियो । सञ्जिव र म भने क्यामेरा झोलामा खाँदेर हिँड्यौँ हरमटारको तीनकुने होटल ।

 

 

 

तपाईको प्रतिक्रिया