हामीलाई नदी आसपासमै पुनःस्थापन गरियोस् : दूधकोशीका माझी समुदाय

Halesi Khabar

खोटाङ, २३ मङ्सिर । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटमा ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालन हुने भएपछि विस्थापित हुने आयोजनास्थलका माझी समुदायले आफूहरुलाई पुनःस्थापन गर्दा कोशी तथा नदी किनारमै गरिदिन माग गरेका छन् । राष्ट्रिय गौरवका आयोजना अन्तरगत पर्ने उक्त जलविद्युत आयोजनाबाट डुवानमा पर्ने भएपछि खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडास्थित रभुँवाघाटका ८० घरधुरी माझी समुदायले आफूहरुलाई नदी र जङ्गल आसपासमा नै पुनःस्थापन गरिदिनुपर्ने माग गर्दै आएका हुन् ।

माझी समुदायले माछा मारेर जीविका चलाउनुपर्ने भएकाले आफूहरुलाई नदी आसपासमा नै पुनःस्थापन गर्नुपर्ने स्थानीय लालवहादुर माझी बताउनुभएको छ । “हाम्रो माझी समुदायमा कसैको मृत्यु भएमा मृत शरीरलाई सक्लै नदीमा बगाउने चलन छ”, उहाँले भन्नुभयो, “मृत्यु सँस्कारका साथै पुस्तौँदेखिको भावना जोडिएको थातथलो डुब्ने भएपछि सरकारले उचित व्यवस्थापन गरिदिनुपर्ने हुन्छ ।”

परम्परादेखि विभिन्न रीतिरिवाज, सँस्कार सँस्कृतिमा समाहित हुँदै आएका माझीगाउँका माझीहरुका लागि सरकारले उचित व्यवस्थापन गरिदिनुपर्ने वडाध्यक्ष किदुर खतिवडाले बताउनुभयो । “माझी समुदायको भावनासँग जोडिएको परम्परागत पेशा–व्यवसायलाई समेत ख्याल गर्दै छिन्नभिन्न नहुने गरी पुनःस्थापना गरिनुपर्छ”, उहाँले भन्नुभयो, “रभुँवाघाटमा बाँध हालेर सञ्चालन गरिने उक्त जलविद्युत आयोजनाले माझी गाउँसँगै आसपासका १६२ घरपरिवार पूर्ण रुपमा डुवानमा पर्नेछ ।”

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका ९८८ घरपरिवार प्रभावित हुने उक्त आयोजनाका कारण सो क्षेत्रका ८७६ हेक्टर जमिन डुवानमा पर्ने जनाइएको छ । यद्यपि, डुवानमा पर्ने उक्त क्षेत्रका स्थानीय बासिन्दाले जलविद्युत आयोजना सञ्चालन गर्दा नेपाल सरकारले चित्त बुझ्दो मुआब्जा दिने आशा पालेका छन् ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सकिएको उक्त जलविद्युत आयोजनाका लागि करीब रु एक खर्ब ६० अर्ब बजेट लाग्ने अनुमान गरिएको प्रतिनिधिसभा सदस्य एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विशाल भट्टराईले बताउनुभयो । आयोजनाले सम्भाव्यता अध्ययन र डिपिआर दुवै काम सन् २०१६ को जुलाईबाट शुरु गरी करीब तीन वर्षमा सम्पन्न गरेको हो ।

डिपिआर अनुसार २२० मिटर अग्लो र ६३० मिटर लामो ड्याम बाँधेर जलाशययुक्त जलविद्युत आयोजना निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ । डिपिआरको काम इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएशन विथ न्युजेक नामक कम्पनीले लिएको थियो ।

सहवित्तीयकरण मार्फत् लगानी गर्ने बैङ्कको नेतृत्व एडीबीले गर्ने सम्झौता भएको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना प्रमुख वशन्त श्रेष्ठले बताउनुभएको छ । “एडिबिकै अनुदानमा आयोजनाको विस्तृत डिजाइन अन्तिम गरिएको छ”, उहाँले भन्नुभयो, “आयोजनाबाट वार्षिक रुपमा तीन अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । यसमध्ये हिउँदमा एक अर्ब ३५ करोड ८० लाख र वर्षामा दुई अर्ब आठ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ ।”

उत्पादित विद्युत प्रस्तावित सुनकोशी–ढल्केबर ४०० केभी प्रशारण लाइनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोडिने योजना रहेको छ । जापान सरकारको सहयोगमा कोशी बेशिन अध्ययन गुरुयोजना अन्तरगत वि.सं. २०४२ मा उक्त आयोजनाको काम अघि बढाउन सिफारिस गरिएको थियो ।

रभुँवाघाटमा जलविद्युत आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै जलाशयमा डुङ्गा सयर, माछा पालन तथा पर्यटन विकास हुने अपेक्षा गरिएको छ । जलविद्युत आयोजना सफल बनाउन रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया