किन आउने दिक्तेल बजार ?

Halesi Khabar

–भीम राई
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार आन्तरिक तथा बाह्य पर्यटकका लागि बाटो परेमा आउने बाहेक कोहि पनि आउँदैनन् । पर्यटनकै लागि एकदुई दिन बस्नेगरी कोहि व्यक्ति अहिलेसम्म लामो बाटो गरेर आएको पाईँदैन ।

कोहि आइहालेमा पनि उनीहरुको एउटै प्रश्न छ किन आउने दिक्तेल ? यसको उत्तर पनि हामीसँग छैन । आउनुहोस भनेर गेट बनाइदिएर मात्र पनि मान्छे नआउँदा रहेछन् ।

दिक्तेल बजारमा साँच्चै घुम्न र हेर्न लायक ठाउँ नै पनि हामीले कति सुरक्षित राखेका रहेछौँ र ? हामीले बनाएका भौतिक संरचना, उत्पादन गर्ने नौलो र आकर्षक सामग्रीहरु खै के के छन् ?

हामीले कोहि टाढाबाट आउने पाहुना जो नितान्त हेर्न र घुम्नकै लागि भनेर आउँछन् उनीहरुलाई दिक्तेलको चिनो भनेर के दिएर पठाउँछौँ प्रश्न गम्भीर छ । आउनुस् हामी आफैले आफूलाई एकपटक समिक्षा गरौँ ।

हामीसँग नभएका होइन । धेरै सम्भवनाहरु छन् । सम्भावना भएर पनि व्यवस्थापन गर्न ध्यान पुगेको भने छैन । सामन्यतः दिक्तेलमा आउने पाहुनाले के चाहान्छ । त्यो पनि हामीले तयार पार्न सकेका रहेन छौँ । न हामीसँग तयारी छ न प्रचार छ । प्रचार गर्नलाई पूर्वाधार चाहिन्छ न त्यो पूर्वधार नै हामीले बनाएका छौँ ।

केहि समय अगाडि छिमेकी मूलुक भारतको नेपाली भाषी दुईजना पाहुना दार्जिलिङ मिरिकबाट आउनुभयो । उहाँहरुको पुख्र्यौली जिजुबाजे नेपालबाटै गएको भोजपुरको बान्तावा राईका सन्तान भएपनि खोटाङ आउनु भएको रहेछ । उहाँहरु दार्जिलिङ सिक्किमा कहलिएका साहित्यकार कवि नुहाङ राई र उहाँका भान्जा ।

उहाँहरु भोजपुरतिर नगइ खोटाङ आइपुग्नुको कारण रहेछ । त्रिधार्मिकस्थल हलेसीको दर्शन । किराँत राईहरुको उद्गमस्थल भनिएको तुवाचुङ जायजुमको अवलोकन गर्ने साथै आफ्ना पूर्खाहरुको नाममा भक्तिभाव राखेर दर्शन गर्ने सोचका साथ आउनु भएको रहेछ ।

आफू किराँत राईहरुको वंश भएकाले फूलपातीको रुपमा उहाँहरुले दुईबोट अदुवा, अलिकति कोदो र मर्चा, अनि चामल बोकेर आउनुभएको रहेछ । तर, त्रिधार्मिकस्थल भनिएको हलेसीमा आएर दर्शन गर्दै जाँदा फूल भेटीहरु चढाउने ठाउहरु प्रशस्त भेटिए तर आफूले त्यत्रो टाढाबाट लिएर आएको सामग्री चढाउने ठाउँ नपाएको गुनासो दिक्तेलमा आएर सुनाउनुभयो ।

उहाँलाई दिक्तेलसम्म बोलाएर केहि ठाउँहरु देखाउने अवसर मिलेको थियो । उहाँले त्यसबेला भन्नुभएको थियो, ‘यस्तो ठाउँ हेर्नकै लागी हाम्रो दार्जिलिङ सिक्किम नै काफी छ ।’ यो एउटा महत्वपूर्ण कुरा थियो ।

वास्तवमा हामी पर्यटनपनि हाम्रोलागी एउटा महत्वपूर्ण संवृद्धिको आधार हो भनि रहँदा आउने पाहुनाको रुचि अनुसारको के निर्माण गरेका रहेछौँ र पर्यटक आउनु ? फेरी हामी आन्तरिक वा बाहय पर्यटनको जुनकुरा गरिरहेका छौँ । खासमा पर्यटक र यात्रीमा विभेद खुट्टयाउन सकिनै रहेका छैनो ।

कोहि एकजना आउँछ १ घण्टा घुम्छ । चिया खाजा खान्छ र झोली तुम्बा कसेर बाटो लाग्छ भने त्यसलाई पर्यटनका भाषामा पर्यटक भनिदो रहेनछ । उनीहरु त केवल यात्री रहेछन् ।

तर, कोहि व्यक्ति दिक्तेलमा आउँछ उसले विभिन्न ठाउँको अवलोकन गर्छ र यहि ठाउँमा २४ घण्टा भन्दा बढी बिताउँछ भने बल्ल दिक्तेलका लागि उ पर्यटक हुने रहेछ । भने अब हामीले कुनै एक यात्रीलाई २४ घण्ट भन्दा बढी अलमलाउन सक्ने गरी हेर्न लायक, देख्न लायक, बुझ्न लायक र अध्ययन गर्न लायकको एतिहासीक, धार्मीक, सांस्कृतिक कुराहरु के के जोगाएर राखेका छौँ ।

गम्भीरता पूर्वक सोचौँ त । हामीले निर्माण गरेको संरचनासम्म हामीले सडक पु¥याइ दिएका छौँ । जसले हामी गर्वका साथ छाती फुलाएर ठीक गरेको दावी गर्छौँ । के त्यो ठीक हो त ? त्यो हुँदै होइन हामीले त यात्रीहरुका लागि सजिलो बनायौँ । पर्यटकलाई तान्ने होईन यात्री बनाएर पठाउने काममा लाग्यौँ ।

अहिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बनाईरहेको पर्यटन प्रवद्र्धनका पूर्वाधारहरुलाई समेत हामलिे हेर्दा अझै हामी दिक्तेलमा यात्री भित्र्याउन सक्ने अवस्थामा छैनौँ । नगरपालिकाको पहलमा पर्यटन प्रवद्र्धनका लागि बन्दै गरेको रुरु ताल र पेन टावर (बगरे भञ्ज्याङ) सडकको छेउमै रहेको छ ।

बुइपामा बन्दै गरेको विश्वकै सबै भन्दा अग्लो भनिएको यलम्बर मुर्ति र त्यहाँ बन्ने संरचनाले पनि यात्रीलाई मात्र निम्त्याउँछ । नेर्पाको भुलभुले र झाँक्री गुफा आधा घण्टामा घुमेर सकिन्छ ।

नुनथला महुरेको आँखा पोखरीलाई सडकबाट आँखा तानेर हेरे पुग्छ । त्यहाँ गाडीबाट बाहिर ननिस्केपनि देखिनै हालिन्छ । बाँकी रहेको रुपाकोट डाँडामा पनि सडक पु¥याउने गरी योजना बन्दै गरेका छन् ।

अर्को दिक्ते भन्दामाथि रहेको कालिका भगवती मन्दिर, बुद्धेश्वर गुफा पु¥याएर दिनभर राख्न सकिन्न । मझुवागढीमा त सडकनै पु¥याई हालियो । त्यहाँ डाँडामात्र हेरेर बस्ने कुरै भएन । यसले हामीले निर्माण गर्दै गरेको संरचनाहरुले यात्री बाहेक कसैलाई बोलाउन नसकिने रहेछ भन्ने विश्लेषण किन नगर्ने ?

पर्यटन प्रवद्र्धनका दृष्टिले निर्माण गरिएको यी भौतिक पूर्वाधारले मात्र पर्यटनको विकास हुने संभावना कहिँ देखिदैन । केहि विश्रामका स्थलको विकास गरिरहेका छौँ । साँच्चै पर्यटनको आकर्षण गर्न हामीले सँस्कारगत संरचना निर्माण गर्न सकेमा केही राम्रो हुनेछ ।

जातीय समुदायको साँस्कृतिक पहिचान झल्कने संरचना, भेषभुषा, परिकार, मौलिक सँस्कृतिको संरक्षणमा जोड दिएर प्रोत्साहित बनाउँदै यी निर्माण भइरहेको संरचना वरिपरी बस्ती विकास गर्न सकेमा यात्रीलाई पर्यटक बनाउन सकिन्थ्यो की ?

तपाईको प्रतिक्रिया