यलम्बर सँगीत प्रतियोगितामा उत्कृष्ट दश छानिए, विजेतालाई हङकङ जाने अवसर

Halesi Khabar

खोटाङ, ७ मङ्सिर । यलम्बर सँगीत प्रतियोगिताको छैठौँ सँस्करणका उत्कृष्ट दश प्रतियोगी छानिएका छन् । किराँत राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय समितिले अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरिरहेको चौथो चरणको छनोट प्रतियोगिताबाट उत्कृष्ट दश प्रतिष्पर्धी छानिएका हुन् ।

अनलाईनमार्फत भएको प्रतियोगिताबाट खोटाङका लकेश राई, प्रबृत्ति राई र मञ्जु राई, ओखलढुङ्गाका चाँदनी वाम्बुले राई र मनोजकुमार राई, सुनसरीका बिनु राई र सरिता राई, उदयपुरका पम्फा चाम्लिङ राई, धनकुटाका साङ्गेन राई र इजरायलबाट निलीमा साम्पाङ राई चयन भएका छन् । विभिन्न दश देशका २१३ जना प्रतिस्पर्धीमध्येबाट क्रमशः पहिलो, दोश्रो र तेश्रो हुँदै चौथो चरणमा दश जना प्रतियोगी छनौट गरिएको प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङले जानकारी दिनुभयो ।

प्रतियोगीले आफ्नो ‘ओरिजिनल’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलब्ध गराउनुपर्ने र आयोजकले सोही एमपीफोर फाईल भिडियोको आधारमा प्रतिष्पर्धा गराइने छ । सामाजिक–साँस्कृतिक जागरण अभियानका रुपमा हरेक वर्ष सञ्चालन गरिँदै आएको प्रतियोगितालाई यसपल्ट कोरोना भाइरसको महामारीका कारण अनलाईन सँस्करणमार्फत विश्वव्यापी बनाइएको हो ।

प्रतिष्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो । प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगीले क्रमशः रु ३० हजार, रु १५ हजार, रु दश हजार र रु पाँच हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले जानकारी दिनुभयो ।

प्रतियोगीताको फाईनल प्रतियोगिता तीन हप्तापछि हुने आयोजकले जनाएको छ । किराँती इतिहास, मौलिकता, भाषा, सँस्कार–सँस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार सङ्घले यलम्बर सँगीत प्रतियोगिता शुरु गरेको हो ।

हालसम्म सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्बिका राईले यलम्बर सँगीत प्रतियोगिताको पहिलो उपाधि हात पार्नुभएको थियो । प्रतियोगितामा किराँत राई समुदायका प्रतिभाले मात्र सहभागिता जनाउन पाउने र सहभागीले किराँती विषयमा सम्बन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने मापदण्ड छ ।

यसैबीच, यलम्बर सँगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने एलम्बर साँझमा सहभागी हुने अवसर पाउने भएका छन् । हरेक वर्ष यलम्बर साँझ सञ्चालन गर्दै आएको किराँत राई यायोक्खा हङकङले यलम्बर सँगीत प्रतियोगिताका विजेतालाई यलम्बर साँझमा प्रस्तुतिका लागि लैजाने निर्णय गरेको हो ।

यलम्बर सँगीत प्रतियोगिताका दोश्रो पुरस्कार विजेतालाई एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । पृथक क्रियसनले गीतको स्टुडियो खर्च निःशुल्क गर्ने र बाँकी खर्च जय राईले प्रायोजन गर्ने प्रतियोगिताका प्रचार विभाग संयोजक थुलुङले बताएउनुभयो ।

तपाईको प्रतिक्रिया